दाङ । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताउनुभएको छ ।
मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै जानु र जमिन सुख्खा बन्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्नुभयो । उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको उहाँको भनाइ थियो ।‘नदिहरु सुक्दैजाँदा समस्या बढ्न सक्छ । अनुकुलनका योजनाहरुलाइ प्राथमिकता दिन जरुरी छ । जलाशयहरु निर्माण गरेर पानीको स्रोत संरक्षण गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘भूमिगत पानी पनि घट्दै गएको छ । खोला र नदिहरु पनि सुक्दै गए । हामी संवेदनशील भएनौं भने उत्पादनशिल जमिनहरु खण्डहर हुने अवस्था रहन्छ । वैकल्पिक रुपमा ड्याम र जलाशय बनाएर अघि बढ्न जरुरी छ ।’
उहाँले सिँचाइ सुविधा पुगेका क्षेत्रमै पनि जमिन बाँझो रहने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै सरकार किसानलाई उत्पादनमा जोड्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । राज्यले लगानी गरेका सिँचाइ आयोजनाबाट अपेक्षित प्रतिफल नआउनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै त्यस्ता क्षेत्रमा खेती विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश स्थापना हुँदाको अवस्थामा १२ महिना सिँचाइ सुविधा पुगेको जमिन २० प्रतिशत मात्रै रहेको स्मरण गर्दै अहिले त्यो ३५ प्रतिशत पुगेको जानकारी दिनुभयो । यस उपलब्धिबाट उत्साहित हुँदै वैज्ञानिक र दिगो ढंगले सिँचाइ विकासलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले जलस्रोत संरक्षणका लागि जलाशय, ड्याम निर्माण तथा चुरे क्षेत्रमा पानी संरक्षणका उपायहरू लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भूमिगत पानीको सतह घट्दै जानु र खोलानाला सुक्दै जानुले भविष्यमा ठूलो संकट निम्त्याउन सक्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले बाह्रै महिना सिंचित हुने क्षेत्रको विस्तारलाई बढाइरहेको बताउनुभयो ।
पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सिँचाइ क्षेत्रलाई कृषि विकासको आधारका रूपमा प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । पूर्व सिँचाइ मन्त्री वीरबहादुर रानाले उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार भइसकेको उल्लेख गर्दै किसानको मन जित्नेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेश योजना आयोगका सदस्य शान्तादेवी ढकालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सिंचाई पूर्वाधारको सुदृढिकरणमा जोडदिनुभयो । प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिका सचिव भिमलाल चौधरीले कृषि क्षेत्रको विकासकालागि सरकारले सिंचाई क्षेत्र विस्तारकालागि ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव चूर्णबहादुर ओलीले हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो । बबई सिँचाइ आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनासँग सम्बन्धित प्रतिनिधिहरुले आयोजनाको अवस्था र चुनौतीबारे धारणा राखेका थिए ।
कार्यक्रममा प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समिति, देउखुरीलाई उत्कृष्ट जल उपभोक्ता समितिका रूपमा सम्मान गरिएको छ । त्यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बर्दियाका प्राविधिक अधिकृत हरिप्रसाद अवस्थी र गुल्मीका कार्यालय सहयोगी पोमनारायण सुवेदीलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा विभिन्न सरोकारवाला, योजना आयोगका सदस्य, प्राविधिक तथा किसान प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाशाखा प्रमुख केशवराज रिजालको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण मन्त्रालयका वरिष्ठ इञ्जिनियर चन्द्र रानाले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
