घोराही । गुरुकुल एकेडेमी घोराहीका कक्षा १२ का विद्यार्थिहरुको विदाई कार्यक्रम सम्पन्न भएको छ। घोराहीस्थित पौवा होटलमा एक विशेष समारोहको आयोजना गरी कक्षा १२ का विद्यार्थीहरुलाई सम्मानपूर्वक विदाई गरिएको विद्यालयका प्लसटु संयोजक राजन अधिकारीले जानकारी दिनुभयो।
कक्षा ११ का छात्र कुन्दन केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजभण्डारीले कक्षा १२ का विद्यार्थीहरुले विद्यालयमा बिताएको समय, सिकाइ र अनुभवलाई जीवनभर मार्गदर्शनका रुपमा लिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई आगामी उच्च शिक्षा तथा जीवनका विविध क्षेत्रमा सफलताको शुभकामना दिँदै आत्मविश्वास, अनुशासन र मेहनतलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा प्लसटु संयोजक राजन अधिकारीले विद्यार्थीहरुको शैक्षिक यात्रामा विद्यालयको साथ र सहयोग सधैं रहने उल्लेख गर्दै सबैलाई उज्ज्वल भविष्यको कामना गर्नुभयो। सहायक प्रधानाध्यापक महेन्द्र पौडेलले विद्यार्थीहरुले विद्यालयको नाम उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो भने पूर्व प्रधानाध्यापक डा. कृष्णराज डिसीले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई व्यवहारिक जीवनमा पनि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो।
सञ्चालक समिति सदस्य रुपक थापा र विद्यार्थी बन्दना नेपालीले पनि आफ्ना अनुभव, सम्झना तथा शुभकामना मन्तव्य मार्फत कक्षा १२ का विद्यार्थीहरुलाई प्रेरणा प्रदान गर्नुभएको थियो।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विद्यालयसँग जोडिएका आफ्ना अनुभव, सम्झना र भावनाहरु व्यक्त गर्दा वातावरण निकै भावुक बनेको थियो। केही विद्यार्थीहरुले आफ्नो विद्यालय जीवनका रमाइला तथा चुनौतीपूर्ण क्षणहरु स्मरण गर्दै शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरेका थिए।
यसैगरी, कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए जसले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएको थियो। विद्यार्थीहरुले नृत्य, गीत तथा अन्य सिर्जनात्मक प्रस्तुतिहरुमार्फत आफ्ना प्रतिभा देखाएका थिए।
कक्षा ११ की छात्रा सिमरन योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ११ का विद्यार्थीहरु बिरेन्द्र गाहा मगर र दिप्ति महराले कुशलतापूर्वक गर्नुभएको थियो। कार्यक्रम समापनतर्फ अघि बढ्दै गर्दा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै सफल भविष्यको कामना गरेका थिए।
समग्रमा, उक्त विदाई कार्यक्रमले कक्षा १२ का विद्यार्थीहरुको विद्यालय जीवनको अन्तिम क्षणहरुलाई अविस्मरणीय बनाएको छ। कार्यक्रमले विद्यार्थीहरुबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै आगामी दिनमा अझ उच्च लक्ष्य प्राप्त गर्न प्रेरणा प्रदान गरेको सहभागीहरुले बताएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

