• २० चैत्र २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
च्छो रोल्पा : शब्दमा नअटाउने यात्रा अनुभूति




लोकेश जोशी
शहरको भीडभाड, कोलाहल, प्रदूषण, भागदौड अनि हतास- उफ् ! धुवाँधुलो र अनाहकको हतारबीच कहिलेकाहीँ मन रमाउन शान्त ठाउँ चाहिदो रहेछ, जहाँ शब्दभन्दा अनुभूति ठूलो होस् र गन्तव्यभन्दा यात्राको मिठास अझ धेरै होस् । त्यही अनुभूति खोजिरहने मन भुलाउन कतै जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।

साथीभाइसँग सल्लाह गरेँ अनि बन्यो ट्रेकिङको योजना। काठमाडौंमै रहेका हामी ५ जना चैत ६ गते बिहान ७ बजे तीनवटा बाइकमा सवार भएर (३ जना दिदीबहिनीसहित हामी २ जना भाइ) जोडिँदै गन्तव्यतर्फ यात्रा शुरू गर्‍यौं। गन्तव्य थियो- च्छो रोल्पा ताल।

धुलिखेलतर्फको बाटो धुलाम्मे थियो। हावासँगै उडेको धुलोले अनुहार ढाक्थ्यो, सासभित्र पस्ने धुलोले यात्रा झन् वास्तविक बनाउँथ्यो। बीच-बीचमा परेको वर्षाले शरीर भिजाउँथ्यो, तर मन भने झन् ताजा बनाउँथ्यो। करिब १० घण्टापछि हामी दोलखाको छे-छे पुग्दा दिन ढलिसकेको थियो। थकानले शरीर भारी थियो, तर भोलिको यात्राको उत्साह मनमा अझ भारी रहेको आभास हुन्थ्यो।

भोलिपल्ट चैत ७ गते बिहान, सिमिगाउँको बाटो समात्दै हाम्रा पाइला जङ्गलतिर मोडिए। उकालो-ओरालो, चिप्ला बाटा र लठ्ठीको सहाराले यात्रा अब शरीरले मात्र होइन, इच्छाशक्तिले पनि धान्नुपर्ने भइसकेको थियो। जङ्गलभित्रै वर्षाको आवाज सङ्गीतझैँ बजिरहेको थियो। साथीहरूको हाँसो, थकानका सुस्केराहरू र पातमा खस्ने पानीका थोपा सबै मिलेर एउटा लय बन्दै थियो।

बेलुका डोडाङ पुग्दा शरीर थाकेर लठ्ठिएको थियो। आगोको न्यानोमा बस्दा लाग्थ्यो- यात्रा यहीं रोकिनुपर्छ। तर मनभित्र कतै थाहा थियो, यो त शुरूआत मात्र हो।

अर्को दिन चैत ८ गते तामाकोशीको किनारै किनार अघि बढ्दा बाटो बिस्तारै सेतो हुन थाल्यो। हिउँसँगको त्यो पहिलो भेट शब्दभन्दा टाढाको अनुभूति थियो। पाइला टेक्दा खसखसाउने आवाज, चिसोले कठ्याङ्ग्रिएका औँलाहरू र वरिपरि फैलिएको हिउँको सेतोपनले मानौँ संसार नै बदलिएको महसुस हुन्थ्यो।

बेदिङ पुग्दा थकान चरममा थियो, तर आँखाहरू सन्तुष्ट थिए। प्रकृतिले दिएको त्यो मनोरम दृश्य कुनै पनि मूल्यभन्दा ठूलो थियो।

चैत ९ गते बिहान, चिसोले कठ्याङ्ग्रिएको शरीर लिएर हामी नागाउँतर्फ लाग्यौं। त्यहाँ पुगेर केही विश्रामपछि च्छो रोल्पा तालतर्फ पाइला बढ्यो। हिउँ झन् बाक्लिँदै गयो, हावा झन् चिसिँदै गयो, तर मन भने झन् उमङ्गिँदै गइरहेको महसुस हुन्थ्यो।

दिउँसो करिब ३ बजे जब हामी च्छो रोल्पा तालको सामु उभियौं, स्वर्गिय आनन्द महसुस भयो। त्यो क्षण शब्दमा कैद गर्न सकिँदैन। करिब ४,५८० मिटर उचाइमा फैलिएको त्यो विशाल ताल, वरिपरि सेताम्य हिमाल, माथि नीलो आकाश र बीचमा नीलो गहिराइ! त्यहाँ पुगेपछि लाग्छ- मान्छे सानो छ, प्रकृति ठूलो।

हामी केही बेर त्यहीँ बस्यौं। फोटो खिच्यौं, हाँस्यौं, नाच्यौं पनि। तर भित्रभित्रै एउटा मौनता थियो, जुन केवल महसुस गर्न सकिन्थ्यो, व्यक्त गर्न होइन। त्यहीँबाट टाढा देखिएको दुधकुण्ड र आँखाभरि अटाएको गौरीशंकर हिमाल; ती दृश्यहरूले यात्रा अझ पूर्ण बनाइदिएका थिए, यद्यपि हिउँका कारण त्यहाँ पुग्न सम्भव भएन।

फर्किने बाटो सधैँ अलि फरक हुन्छ। चैत १० गतेदेखि सुरु भएको फर्काइ हिउँसँगको खेलजस्तै भयो। कहिले चिप्लिँदै, कहिले हाँस्दै, कहिले थकित हुँदै हामी तल झर्दै गयौं।

डोडाङ, सिमिगाउँ, छे-छे हुँदै फेरि बस्तीहरू देखिन थाले। चरिकोटमा एक रात बिताएर चैत १२ गते नगरकोट हुँदै काठमाडौं फर्किँदा यात्रा सकियो, तर अनुभूति भने बाँकी नै जस्तो लाग्छ।

यो यात्रा केवल ६–७ दिनको पदयात्रा थिएन। यो यात्रा थियो- आफ्नो सीमालाई छुनु, प्रकृतिसँग घुल्नु र मौनतामा अर्थ खोज्नु। आज पनि आँखाहरू बन्द गर्दा त्यही दृश्य आउँछ- सेतो हिउँ, नीलो ताल, चिसो हावा… र मनले बिस्तारै भन्छ- फेरि कहिल्यै नबिर्सिने गरी त्यहीँ फर्किनु छ।

यात्रा जम्मा ७ दिनको रह्यो। कुल खर्च प्रतिव्यक्ति करिब १० हजार मात्र लाग्दो रहेछ। च्छो रोल्पा नेपालको हिमतालमध्येको लामो ट्रेकमध्ये एक हो। यसलाई नयाँ ट्रेकका रूपमा पनि लिन सकिन्छ। क्याम्पिङ, ट्रेकिङ र मनोरम दृश्य कैद गर्नका लागि यो उपयुक्त स्थान हो। यो सुनसान ट्रेक पनि हो, किनभने यहाँ त्यति यात्रीको चहलपहल पाइँदैन। पछिल्लो समय आएको बाढीले यहाँका सबै संरचना बगाएकाले बाटो केही ठाउँमा जोखिमयुक्त पनि थियो, तर पनि खोलानालाको हावाले निकै रमणीय लाग्थ्यो। यहाँ बस्ती त्यति छैनन्; केही ठाउँमा होटलबाहेक निकै पातलो बस्ती रहेको छ।

भर्खरैको संघीय निर्वाचनमा पनि यहाँ रहेको गौरीशंकर गाउँपालिकाभित्रको यो ट्रेक पर्ने बस्ती र वडाबाट निकै कम मात्रामा मत खसेको रहेछ। बाढीबाट भत्किएका संरचना नबनाएको भन्दै पुराना दलप्रति निकै आक्रोश झल्किन्थ्यो। यहाँ नेपाल सरकारभन्दा पनि विदेशी संस्थाहरूले सहयोग गरेको देखिन्छ।

नेपाल सरकारले होटल व्यवसायीलाई त्यस्ता कुनै पनि किसिमका तालिम प्रदान नगरेका कारण उहाँहरूको अनुहारमा आक्रोश सजिलै देख्न सकिन्थ्यो। निकै सम्भावना बोकेको च्छो रोल्पा ताल यदि सरकारले चासो दिएर लगानी गर्ने हो भने वार्षिक हजारौँ पर्यटकको रोजाइको गन्तव्यका रूपमा विकास हुन सक्छ भन्ने सजिलै अनुमान गर्न सकिन्थ्यो।

यहाँ बिजुली लगायत कतिपय आधारभूत समस्या देखिन्थे। यात्राको क्रममा जर्मन लगायत देशका थुप्रै नागरिक मैले भेटेँ। उनीहरूको अनुहारमा पनि निकै उत्साह र खुसी झल्किन्थ्यो। यहाँ अत्यधिक हिउँ पर्ने भएको कारण फागुन, चैत, वैशाख, जेठ र असोज, कात्तिकलाई मात्र ट्रेकको मौसमका रूपमा लिन सकिन्छ। त्यसैगरी यहाँका बासिन्दा पनि मौसमबाहेक अरू समय गाउँमा नबस्ने गरेको उहाँहरूको कुराकानीबाट सजिलै बुझ्न सकिन्थ्यो।

यात्रा केवल ६–७ दिनको पदयात्रा थिएन। यो यात्रा थियो, आफ्नो सीमालाई छुनु, प्रकृतिसँग घुल्नु र मौनतामा अर्थ खोज्नु। आज पनि आँखाहरू बन्द गर्दा त्यही दृश्य आउँछ सेतो हिउँ, नीलो ताल, चिसो हावा… र मनले बिस्तारै भन्छ…फेरि कहिल्यै नबिर्सिने गरी त्यहीँ फर्किनु छ।

सायद यात्रा कहिल्यै सकिँदैन। शरीर फर्किन्छ, तर मन त्यहीँ कतै हिमालको काखमा बसिरहन्छ। अनि एकदिन, फेरि कुनै बिहान, त्यही अनुभूति खोज्दै पाइला फेरि त्यही बाटोतर्फ मोडिन्छ…।

Facebook Comments