• १३ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिमेन्ट उद्योगको पहुँच मार्ग कालोपत्रे गर्न माग गर्दै प्रभावित क्षेत्रका नागरिक आन्दोलित




दाङ — दाङ जिल्लामा सञ्चालनमा रहेका विभिन्न सिमेन्ट उद्योगका लागि प्रयोग हुँदै आएको चुनढुङ्गा ढुवानी मार्ग तहसनहस बनेपछि प्रभावित क्षेत्रका नागरिकहरू आन्दोलनमा उत्रिएका छन्। घोराही तापा र स्युजा सडक खण्डको सिस्नेखोलामा शुक्रबार भेला भएका स्थानीयहरूले सडक तत्काल गुणस्तरीय कालोपत्रे गर्नुपर्ने माग अघि सारेर टिप्पर संचालनमा रोक लगाएका छन्।

स्थानीयका अनुसार सगरमाथा, सोनापुर, सम्राट र अग्नि सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ बोकेर हिँड्ने टिप्परहरूले सडक तहसनहस बनाएका छन्। विशेषगरी नवलपुरदेखि चुनढुङ्गा खानीसम्म जाने सडक खण्डमा पर्ने डबरी, धाइरेखुट्टी, असारे, सिस्नेखोला, पालुथान, रानिदमार, गोठधारा, कुमाकी, सवारीकोट, छिटनेटा, जस्पुर, छेकबार, अम्लबास, हर्नोक, काउले, जुम्लेपानी, कमिरेचौर, श्रीवारी लगायतका गाउँहरूका बासिन्दा प्रत्यक्ष प्रभावित बनेका छन्। त्यस्तै स्युजा तर्फका बलाजुरे, धनचौर, दर्मा, पुरुङ, ट्याङट्याङ खोला, कालिमाटी हुँदै स्युजा र खारा क्षेत्रका बस्तीहरूमा पनि यसको असर व्यापक छ।

स्थानीयले सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा पनि सरकार र सम्बन्धित उद्योगहरूले बेवास्ता गरेको आरोप लगाएका छन्। “मुद्दाको बहाना देखाएर सडक मर्मत र स्तरोन्नति गर्नबाट पन्छिन खोजिएको छ,” स्थानीयले गुनासो गरे। हिउदमा धुलो र बार्खामा हिलो र खाल्डाखुल्डीले दैनिक जीवन कष्टकर बनेको भन्दै उनीहरूले तत्काल समाधानको माग गरेका छन्।

असारे टोल विकास संस्थाका अध्यक्ष रामबहादुर पुनले उद्योगको पहुँच मार्ग पूर्ण रूपमा बिग्रिएको र अब स्थानीय जनता चुप लागेर नबस्ने चेतावनी दिनुभयो। “हाम्रो पहिलो र मुख्य माग भनेको यो सडक कालोपत्रे गर्नु हो। जनताको धैर्यको सीमा सकिएको छ,” उहाले भन्नुभयो ।

शुक्रबार आन्दोलनका क्रममा स्थानीयले टिप्परहरू रोकेर विरोध जनाएका थिए। उनीहरूले यसअघि भएका सहमतिहरू उद्योग र सरोकारवालाले कार्यान्वयन नगरेको आरोप लगाए।

स्थानीयका अनुसार टिप्परहरूले क्षमता भन्दा बढी चुनढुङ्गा बोक्ने, तीव्र गतिमा सवारी चलाउने र तोकिएको समयसीमा उल्लंघन गर्ने जस्ता गतिविधि निरन्तर भइरहेका छन्। यसले सडकको क्षति झनै बढाएको पुनले भन्नुभयो ।
पालुथानका युवा कमल आचार्यले सडक सुरक्षाको कानुन सबैका लागि समान रूपमा लागू हुने तर उद्योग र ढुवानीकर्ताले उल्लंघन गरिरहेको स्थानीयको गुनासो छ। “कानुनको धज्जी उडाउँदै जनतालाई दुःख दिने काम भइरहेको छ। सरकार र उद्योगले दादागिरी देखाउन थालेका छन्,” उहाले आक्रोश व्यक्त गर्नुभयो ।

त्यस्तै, स्थानीय नारायणप्रसाद घर्तीले सडकको नियमित मर्मतसम्भार नगर्ने, धुलो नियन्त्रणका लागि पानी नछर्किने, अत्यधिक भार बोकेर सवारी चलाउने जस्ता समस्या समाधान नभए आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिनुभयो। “सयौँ घरपरिवार र हजारौँ जनताको स्वास्थ्य र दैनिकीमा प्रत्यक्ष असर परेको छ। अब हामी चुप बस्दैनौँ,” उहाले भन्नुभयो ।

स्थानीयहरूले प्रहरी प्रशासनसँग पनि टिप्परहरूको अनुगमन कडा बनाउन माग गरेका छन्। क्षमता भन्दा बढी भार बोक्ने, तीव्र गतिमा गुड्ने र नियमविपरीत सञ्चालन हुने सवारीमाथि कारबाही गर्न उनीहरूले आग्रह गरेका छन्।

कार्यक्रममा सहभागी घोराही उपमहानगरपालिका–१७ का वडा अध्यक्ष रामलौटन चौधरीलाई स्थानीयले आन्दोलनको नेतृत्व गर्दै सरकारलाई दबाब दिन आग्रह गरेका थिए। चौधरीले जनताको सुरक्षा र न्यायका पक्षमा आफू सधैं उभिने प्रतिबद्धता जनाउँदै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

स्थानीयका अनुसार उक्त सडक खण्डमा अहिले दैनिक एक सयभन्दा बढी टिप्पर सञ्चालनमा छन् । धुलोका कारण स्वास्थ्य समस्या बढ्नुका साथै बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणको स्वास्थ्य सङै आवतजावतमा समेत कठिनाइ भइरहेको छ।

आन्दोलनरत स्थानीयहरूले शनिबारदेखि आन्दोलनलाई अझ व्यापक र सशक्त बनाउने बताएका छन्। प्रभावित क्षेत्रका सबै नागरिकलाई सहभागी गराउँदै सडक कालोपत्रे नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।

स्थानीयवासीको माग स्पष्ट छ—उद्योगले प्रयोग गर्ने सडकलाई गुणस्तरीय कालोपत्रे गरिनुपर्छ, ढुवानी व्यवस्थित हुनुपर्छ र जनताको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राखिनुपर्छ। साथै उनीहरुले पहुँच मार्ग बैकल्पिक बनाउन समेत माग गरे ।

Facebook Comments