• ११ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमी घोराहीमा बैंकिङ सचेतना कार्यक्रम सम्पन्न




घोराही । गुरुकुल एकेडेमी घोराहीले प्लस टु व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थिहरुका लागि बैंकिङ सचेतना कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । विद्यार्थिहरुलाई बैंकिङ प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास बैंकका पूर्व शाखा प्रमुख युवराज भण्डारीले प्रमुख वक्ताका रुपमा सहजिकरण गर्नुभएको थियो । उहाँले बैंकिङ क्षेत्रको आधारभूत अवधारणा, बचत तथा लगानीको महत्व, ऋण लिने प्रक्रिया, ब्याजदरको प्रभाव, डिजिटल बैंकिङको प्रयोग तथा साइबर सुरक्षा जस्ता महत्वपूर्ण विषयमा विस्तृत जानकारी दिनुभएको थियो । उहाँले वर्तमान समय सूचना प्रविधिको युग भएकाले डिजिटल बैंकिङको प्रयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको सुरक्षित प्रयोगबारे सचेत रहन विद्यार्थिहरुलाई आग्रह गर्नुभयो ।

भण्डारीले विद्यार्थिहरुलाई सानै उमेरदेखि बचत गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिँदै वित्तीय अनुशासनले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले बैंकिङ क्षेत्र रोजगारीका हिसाबले पनि आकर्षक र सम्भावनायुक्त क्षेत्र भएकाले यसतर्फ विद्यार्थिहरुले आफ्नो करियर योजना बनाउन सक्ने सुझाव दिनुभयो । गुरुकुल एकेडेमीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थि नैना बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, व्यवस्थापन संकायका विद्यार्थिहरु तथा अन्य सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रमका क्रममा विद्यार्थिहरुले बैंकिङसँग सम्बन्धित विविध जिज्ञासाहरु राखेका थिए । प्रस्तुतकर्ताले ती जिज्ञासाहरुको प्रष्ट तथा व्यवहारिक जवाफ दिँदै विद्यार्थिहरुको ज्ञान थप विस्तार गर्नुभएको थियो । अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थिहरुमा उत्साह थपेको देखिएको थियो ।

प्लस टु संयोजक राजन अधिकारीले विद्यालयले पाठ्यक्रमसँगै व्यवहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्न प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमहरुले विद्यार्थिहरुलाई वास्तविक जीवनमा आवश्यक पर्ने सीप र ज्ञान हासिल गर्न सहयोग पुर्‍याउँछन् ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले यस्तो ज्ञानमूलक कार्यक्रमले आफूहरुलाई बैंकिङ क्षेत्रबारे स्पष्ट धारणा बनाउन मद्दत पुगेको प्रतिक्रिया दिएका थिए । विद्यालयले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरु निरन्तर आयोजना गर्ने जनाएको छ ।

Facebook Comments