• ११ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संजीवनी शिक्षण अस्पतालमा नेपालमै पहिलो हिलिएम फ्री एमआरआइ सेवा सञ्चालन




दीपक वली
घोराही । दाङको घोराही उप–महानगरपालिका वडा नं. ३ वर्गदुवामा अवस्थित संजीवनी टिचिङ अस्पतालले स्वास्थ्य सेवामा नयाँ इतिहास रच्दै नेपालमै पहिलो पटक हिलियम–फ्री एमआरआइ सेवा सञ्चालनमा ल्याएको छ। अत्याधुनिक प्रविधिसहितको यो सेवा २०८२ साल चैत्र ११ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो, जसले विशेषगरी लुम्बिनी प्रदेश तथा साविक राप्ती क्षेत्रका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। अस्पतालका रेडियोलोजी विभाग प्रमुख तथा कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. जेशन के।सी।का अनुसार जर्मनीको प्रतिष्ठित सिमेन्स कम्पनीद्वारा निर्मित १।५ टेस्ला क्षमताको हिलियम–फ्री एमआरआइ मेसिन जडान गरिएको छ।

परम्परागत एमआरआइ मेसिनहरूमा अत्यधिक मात्रामा हिलियम ग्यास प्रयोग हुने गर्दछ, जसले सञ्चालन लागत बढाउने र मर्मतसम्भार जटिल बनाउने गर्दछ। तर, हिलियम–फ्री प्रविधिले यी समस्याहरूलाई न्यून गर्दै वातावरणमैत्री, सुरक्षित र दिगो स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्‍याउने बताइएको छ।

उक्त एमआरआइ मेसिनमा ‘डिप रिजोल्भ’ नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता ९एआइ० प्रविधि प्रयोग गरिएको छ। यस प्रविधिले स्क्यान प्रक्रियालाई छिटो, सहज र बढी सटीक बनाउने काम गर्दछ। परम्परागत प्रणालीको तुलनामा कम समयमा उच्च गुणस्तरको इमेज प्राप्त गर्न सकिने हुँदा बिरामीको समय बचत हुनुका साथै चिकित्सकलाई रोग पहिचान गर्न थप स्पष्टता मिल्ने विश्वास गरिएको छ। विशेषगरी जटिल रोगहरूको पहिचानमा यस प्रविधि प्रभावकारी हुने जनाइएको छ। मुटुसम्बन्धी एमआरआइ परीक्षणका क्रममा प्रयोग हुने अटोमेटेड पोजिसनिङ प्रणालीले बिरामीलाई सहजता प्रदान गर्नुका साथै स्क्यानको गुणस्तर उच्च बनाउने अस्पतालले जनाएको छ। यसले म्यानुअल त्रुटि घटाउँदै परीक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउँछ। मुटु, मस्तिष्क, मेरुदण्ड लगायतका संवेदनशील अंगहरूको परीक्षणमा यस प्रविधि अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ।

यससँगै अस्पतालमा सिमेन्सकै १९२ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन पनि सञ्चालनमा रहेको छ। उक्त मेसिनमा ‘टिन फिल्टर’ प्रविधि प्रयोग गरिएको छ, जसले अनावश्यक रेडियसनलाई फिल्टर गर्दै आवश्यक मात्रामा मात्र विकिरण प्रयोग गर्छ। यसले बिरामीमा रेडियसनको जोखिम कम गर्दै उच्च गुणस्तरको इमेज निकाल्न मद्दत पुर्‍याउँछ। साथै, एआइ प्रविधिको सहायताले कम रेडियसनमा पनि स्पष्ट र विस्तृत इमेज उत्पादन गर्न सकिने सुविधा रहेको छ। संजीवनी टिचिङ अस्पतालको रेडियोलोजी विभागमा हाल डिजिटल एक्स–रे, भिडियो एक्स–रे, मेमोग्राफी, सिटी स्क्यान र एमआरआइ जस्ता सम्पूर्ण अत्याधुनिक सेवाहरू उपलब्ध छन्। यी सेवाहरू एकै स्थानमा उपलब्ध हुँदा बिरामीले अन्य शहर वा देशसम्म धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

एमआरआइ सेवा सुरु भएसँगै अब दाङसहित रोल्पा, रुकुम, सल्यान, प्यूठान लगायत साविक राप्ती क्षेत्रका बिरामीहरूले सहज रूपमा दाङमै गुणस्तरीय रेडियोलोजी सेवा लिन सक्ने भएका छन्। यसअघि यस्ता सेवाका लागि बिरामीहरूलाई काठमाडौं, नेपालगञ्ज वा भारतका विभिन्न सहरसम्म जानुपर्ने बाध्यता रहेको थियो, जसले समय, खर्च र जोखिम बढाउने गर्दथ्यो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपक रोकाले अत्याधुनिक प्रविधिसहितको एमआरआइ तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै यसले क्षेत्रीय स्वास्थ्य सेवाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उँहाले भविष्यमा थप प्रविधि विस्तार गर्दै विशेषज्ञ सेवा अझ प्रभावकारी बनाउने योजना रहेको जानकारी पनि दिनुभयो।

स्थानीय बासिन्दा तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले पनि यस पहललाई सकारात्मक रूपमा लिँदै यस्तो अत्याधुनिक सेवा दाङमै उपलब्ध हुनु ठूलो उपलब्धि भएको बताएका छन्। उनीहरूले यसले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै बिरामीको जीवनरक्षा र उपचार गुणस्तरमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। यसरी, संजीवनी टिचिङ अस्पतालद्वारा सुरु गरिएको हिलियम–फ्री एमआरआइ सेवा केवल प्रविधिको प्रयोग मात्र नभई समग्र स्वास्थ्य प्रणाली सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आगामी दिनमा यस्ता सेवाको विस्तारले देशभर आधुनिक स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।

Facebook Comments