• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एआई र सूचना प्रविधिबाट आर्थिक रूपान्तरणको बहस




दाङ। नेपाल घरेलु तथा साना उद्योगी महासङ्घ दाङको आयोजनामा घोराहीमा जारी महोत्सवअन्तर्गत ‘आर्थिक विकासमा सूचना प्रविधि र एआईको प्रयोग’ विषयक राउण्ड टेबल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी विज्ञहरूले दाङ र लुम्बिनी प्रदेशमा डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै सूचना प्रविधि र कृत्रिम बुद्धिमत्तालाई आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। नेपालमा आईटी र एआईको प्रयोग विस्तार हुँदै गए पनि पूर्वाधार, सीप, नीति र समन्वयको अभाव प्रमुख चुनौतीका रूपमा रहेको उनीहरूको निष्कर्ष छ।

एआई विज्ञ डा. शैलेन्द्र गिरीले एआईको सम्भावना व्यापक रहेको उल्लेख गर्दै स्थानीय तहसम्म डिजिटल सेवा विस्तार, डेटा व्यवस्थापन र एआई–आधारित समाधान विकासमा ध्यान दिनुपर्ने बताए।

क्यान लुम्बिनीका सहसचिव कर्ण पुनले डिजिटल गभर्नेन्स कार्यान्वयनमा नीतिगत अस्पष्टता, प्राविधिक जनशक्तिको कमी र पूर्वाधार अभाव चुनौती रहेको जनाउँदै डिजिटल पहुँच विस्तार र आईटी सेवा निर्यात प्रवर्द्धनका लागि विशेष नीति आवश्यक रहेको बताए।

अम्बिकेश्वरी क्याम्पसका उपप्राध्यापक इन्जिनियर पवन अधिकारीले शिक्षा र बजारबीचको दूरी कम गर्दै प्राविधिक शिक्षालाई रोजगारमुखी बनाउनुपर्ने आवश्यकता औंल्याए।

उपप्राध्यापक इन्जिनियर मालती दशौंदीले डिजिटल साक्षरता अभावले आर्थिक विकासमा अवरोध पुर्‍याएको उल्लेख गर्दै महिलाहरू र ग्रामीण समुदायलाई डिजिटल प्रविधिसँग जोड्न समावेशी पहल आवश्यक रहेको बताइन्।

नेपाल प्रहरी दाङका सिडिआर प्रमुख प्रनानी पूर्णबहादुर बिकले साइबर अपराधको जोखिम बढ्दै गएको उल्लेख गर्दै डाटा सुरक्षा र साइबर सुरक्षा सुदृढ गर्नुपर्ने बताए।

नेपाल टेलिकम तुलसीपुरका इन्जिनियर रविन पन्थीले गुणस्तरीय इन्टरनेट र डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

कार्यक्रमले एआई र सूचना प्रविधिलाई शिक्षा, स्वास्थ्य, पर्यटन, सार्वजनिक सेवा र व्यवसायसँग जोड्दै आर्थिक विकासको प्रमुख माध्यमका रूपमा उपयोग गर्नुपर्ने, साथै दाङलाई क्षेत्रीय डिजिटल हबका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको निष्कर्ष निकालेको छ।

कार्यक्रम संयोजक शरद अधिकारीको अध्यक्षता तथा पत्रकार नरेन्द्र केसीको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको थियो।

Facebook Comments