घोराही । घोराही -१५ रतनपुरस्थित गुरुकुल एकेडेमीले आगामी शैक्षिकसत्रदेखि एआईमा आधारित शिक्षण पद्धति लागू गर्ने भएको छ । एकेडेमीले सोमबार पत्रकार सम्मेलनमार्फत शिक्षण सिकाइलाई थप व्यवस्थित, वैज्ञानिक र आधुनिक बनाउनका लागि आगामी शैक्षिकसत्र २०८३ देखि नयाँ शिक्षण पद्धति लागू गर्न लागिएको जानकारी गराएको थियो ।
एकेडमीका प्रिन्सिपल प्रदीपराज भण्डारीले गुरुकुल दाङले समयको मागअनुसार शिक्षा प्रणालीलाई प्रविधिमैत्री तथा अनुसन्धानमुखी बनाउने उद्देश्यले नयाँ शैक्षिक अवधारणा अघि सारेको जानकारी दिनुभयो । उहाँले गुरुकुल एकेडेमी घोराही, तुलसीपुर र लमहीमा आगामी नयाँ शैक्षिकसत्रदेखि एआईमा आधारित शिक्षण पद्धति लागू हुने बताउनुभयो ।
विद्यालयहरुले विगतदेखि नै परियोजनामूलक सिकाइ, प्रयोगात्मक अभ्यास तथा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनलाई प्राथमिकता दिँदै आइरहेको र अब त्यसलाई अझ व्यवस्थित, वैज्ञानिक र आधुनिक स्वरुप दिनका लागि कृत्रिम बुद्धिमत्ता एआई तथा नयाँ शिक्षण विधिको प्रयोगमार्फत शिक्षण सिकाइ प्रक्रियामा रुपान्तरण गर्ने तयारी गरिएको उहाँको भनाइ थियो । साथै, उहाँले एआई शिक्षण पद्धतिले विद्यार्थीहरुलाई केवल परीक्षामुखी नभइ अनुसन्धानमुखी, सिर्जनात्मक ज्ञान तथा आत्मनिर्भरमुखी शिक्षातर्फ उन्मुख गराउने विश्वास गरिएको उहाँले बताउनुभएको थियो ।
त्यसैगरी गुरुकुल एकेडमी तुलसीपुरका प्रिन्सिपल मुकुन्द गिरीले विद्यालयका आगामी नयाँ शैक्षिकसत्र २०८३ का योजनाहरु सार्वजनिक गर्दै एआईमा आधारित शिक्षण प्रणालीको प्रयोग, रेक्टा विधिमार्फत शिक्षण प्रक्रिया र नयाँ शैक्षिक संरचनाको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले एआईमा आधारित शिक्षण, रेक्टा विधि र नयाँ शैक्षिक संरचनाले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, परिणाममुखी तथा समयसापेक्ष बनाउने बताउनुभयो । यस माध्यमको शिक्षण विधिले विद्यार्थीहरुलाई ज्ञान, सीप र प्रविधिको समन्वयमार्फत भविष्यका चुनौती सामना गर्न सक्षम, योग्य तथा दक्ष नागरिकका रुपमा विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
विद्यालयहरुले विद्यार्थीहरुको बौद्धिक विकाससँगै नैतिकता, अनुशासन, नेतृत्व क्षमता, सिर्जनात्मक तथा सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिँदै नियमित रुपमा शैक्षिक प्रतियोगिता, विज्ञान प्रदर्शनी, खेलकुद तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको विद्यालय प्रशासनले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
