दाङ। घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ चौघेरामा नवनियुक्त पीरलाई स्वागत तथा पूर्व पीरलाई सम्मान गरिएको छ।
चौघेरा टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा नयाँ पीर योगी ज्ञाननाथलाई स्वागत गरिएको हो भने पूर्व पीर ब्रह्मानाथलाई सम्मान गरिएको थियो।
टोल विकास संस्थाका अध्यक्ष श्याम भण्डारीका अनुसार ब्रह्मानाथले चार वर्ष मठाधीशको जिम्मेवारी सम्हाल्दै पात्रदेवताको सेवा, तान्त्रिक साधना तथा सनातन धर्म, अध्यात्म जागरण र कला–संस्कृतिको संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले उहाँलाई सम्मान गरिएको हो।

अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नवनियुक्त पीर योगी ज्ञाननाथ र विशिष्ट अतिथि पूर्व पीर ब्रह्मानाथ हुनुहुन्थ्यो। कार्यक्रममा प्युठानी समाजका यादव खनाल, पत्रकार नरेन्द्र केसीलगायतले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले चौघेरामा रहेको ऐतिहासिक मठको संरक्षण र विकासमा स्थानीय समुदायले देखाएको चासो सराहनीय रहेको धारणा व्यक्त गरेका थिए।
टोल विकास संस्थाका सदस्य राजीव योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लक्ष्मीनारायण आचार्यले गर्नुभएको थियो।
सो अवसरमा सत्संग कार्यक्रम पनि आयोजना गरिएको थियो। सत्संगमा वरिष्ठ संगीतकर्मी गोविन्द्रराज श्रेष्ठ, बाँसुरीवादक रामहरि रिजाल तथा गायिका अम्बिका रिजाललगायतको सहभागिता रहेको थियो।
त्यसैगरी, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीका विद्यार्थीहरूले गठन गरेको संस्था डब्ल्युएजवाई आयुर्वेद कमिटीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। डा. मनोज अधिकारीको नेतृत्वमा शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वडास्तरीय फुटबल प्रतियोगितामा प्रथम हुन सफल टोलका खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो।
देवीपाटन महायात्राको तयारी पूरा
गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ चौघेराको आयोजनामा आइतवारदेखि सुरु हुने देवीपाटन महायात्रा २०८२ को तयारी पूरा भएको छ।
मठ व्यवस्थापन समितिका सदस्य तोयानाथ योगीका अनुसार यात्रा बिहान साढे चार बजे सुरु हुनेछ। उहाँले विदेशबाट आएका साधुसन्तसहित तीन सयभन्दा बढी साधुसन्तको सहभागिता रहने जानकारी दिनुभयो।

विभिन्न झाँकी, कलश तथा रथयात्रासहित यात्रा सुरु हुने र यात्रुहरू लमहीमा पाँच दिन बस्ने कार्यक्रम रहेको बताइएको छ। त्यसपछि टोली कोइलाबास जानेछ। कोइलाबासमा एक दिन बसेपछि भारतको जनकपुरमा दुई दिन रहने र चैत ९ गते भारतको पाटनदेवी पुग्ने कार्यक्रम रहेको छ। पाटनदेवीमा पाँच दिन बसेपछि चैत १५ गते टोली फर्कनेछ।
यसअघि मठले नै यात्राको आर्थिक व्यवस्थापन गर्दै आएको भए पनि पछिल्ला दुई वर्षदेखि देवीपाटन यात्राको खर्च व्यवस्थापन लुम्बिनी प्रदेश सरकारले गर्दै आएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
