घोराही । ‘घोराही बनाऔं अभियान’ले घोराहीमा आयोजना हुन लागेको महोत्सवमा स्थानीय कलाकार तथा विद्यार्थीलाई सांस्कृतिक कार्यक्रममा उचित स्थान दिन माग गरेको छ।
अभियानले बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङलाई ज्ञापनपत्र बुझाउँदै महोत्सवमा स्थानीय कलाकार, जिल्लाबाट बाहिर गएर स्थापित भएका कलाकार तथा विद्यालयका विद्यार्थीलाई अनिवार्य रूपमा सहभागी गराउन आग्रह गरेको हो।
अभियानका संयोजक सविन प्रियासनले महासंघका निवर्तमान अध्यक्ष प्रदीप मजगैयालगायतको टोलीलाई ज्ञापनपत्र बुझाउँदै महोत्सवलाई सबैको साझा बनाउन स्थानीय प्रतिभालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा फागुन २८ गतेदेखि चैत १८ गतेसम्म घोराहीको झिंगौरा–रतनपुर क्षेत्रमा ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ आयोजना हुँदैछ।
ज्ञापनपत्रमा दाङमा जन्मिएर राष्ट्रिय स्तरमा पहिचान बनाएका कलाकारलाई महोत्सवमा प्राथमिकता दिनुका साथै स्थानीय विद्यालयका विद्यार्थीलाई पनि सांस्कृतिक कार्यक्रममा सहभागिता गराएर उनीहरूको प्रतिभा उजागर गर्ने वातावरण बनाउन आग्रह गरिएको छ।
त्यसका लागि जिल्लास्थित प्याव्सनलगायत शैक्षिक संघ–संस्थासँग समन्वय गरी हरेक दिन विद्यार्थीका प्रस्तुति समावेश गर्नुपर्ने अभियानको सुझाव छ।
ज्ञापनपत्र बुझ्दै महासंघका प्रतिनिधिहरूले यस वर्षको महोत्सवमा स्थानीय कलाकार तथा विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने विश्वास व्यक्त गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
