• १८ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा फागुन २८ देखि ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग महोत्सव–२०८२’ हुने




घोराही। नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा “लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२” आयोजना हुने भएको छ।

महोत्सवसम्बन्धी जानकारी दिन आज घोराहीमा आयोजित पत्रकार सम्मेलन गरी आयोजकले फागुन २८ गतेदेखि चैत १५ गतेसम्म महोत्सव सञ्चालन हुने जनाएको हो। महोत्सव घोराही उपमहानगरपालिका–१४ भिंगौरामा आयोजना हुनेछ।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी, किसान, युवा, महिला, कलाकार तथा उद्यमशील समुदायलाई साझा मञ्चमा जोड्नुका साथै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना, कृषि–पशुपालन तथा पर्यटन क्षेत्रको आधुनिकीकरण, सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव अभिवृद्धि गर्नु रहेको छ।

दैनिक कार्यक्रम संरचना

महोत्सव अवधिभर हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विषयगत विशेष कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम महासंघका सल्लाहकार शरद अधिकारीको प्रमुख संयोजकत्वमा सञ्चालन हुने जनाइएको छ। त्यसपछि दिउँसो ३ बजेदेखि राष्ट्रिय तथा स्थानिय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।

विभिन्न समिति गठन

महोत्सव सफल बनाउन विभिन्न समिति गठन गरिएको छ। मूल आयोजक समितिको संयोजकमा लव अधिकारी, सह–संयोजकमा शशिधर ओली र रेशमीराज पाण्डेय रहेका छन्। सचिवालय संयोजक सिता मल्ल, आर्थिक संयोजक विष्णु थापा तथा अनुगमन संयोजकमा प्रदिप मजगैया, किरण रेग्मी, तुल्सी राना, श्याम सुवेदी र डा। भिमसेन गिरी रहेका छन्।

त्यसैगरी स्टल तथा स्पोन्सर व्यवस्थापनमा जगदिश भण्डारी, सञ्चार तथा प्रचारप्रसारमा आर.के. शितल, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापनमा सञ्जय वोहरा, पार्किङ व्यवस्थापनमा पदम ओली तथा स्वास्थ्य उपसमिति संयोजकमा डा। प्रकाश सुबेदी र शिशिर सुबेदी रहेका छन्।

महोत्सवका विशेष आकर्षण

यस वर्ष महोत्सवमा “परम्परा र पहिचान” टिकटक जोन विशेष आकर्षणका रूपमा निर्माण गरिनेछ। उक्त जोनमा ढिकी, जाँतो, परम्परागत कृषि औजार तथा घरेलु उद्योगका प्राचीन सामग्री प्रदर्शन गरिने जनाइएको छ। बालबालिकाका लागि बालउद्यानको व्यवस्था पनि रहनेछ।
साथै, फेसबुक र टिकटकमार्फत महोत्सवको प्रचारप्रसारमा बढी भ्युज ल्याउने उत्कृष्ट तीनजनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

विषयगत विशेष महोत्सव

महोत्सवअन्तर्गत रोजगार तथा सिप विकास, स्वास्थ्य, युवा, कृषि तथा पशुपालन, स्थानीय कला–संस्कृति तथा पर्यटन, औद्योगिक विकास तथा स्थानीय उत्पादन, महिला उद्यमशीलता, शिक्षा तथा बालबालिका, उद्यमशीलता तथा सूचना प्रविधि तथा शान्ति र सामाजिक सद्भाव सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
रोजगार मेलादेखि निःशुल्क स्वास्थ्य शिविर, स्टार्टअप प्रस्तुति, आधुनिक कृषि प्रविधि प्रदर्शनी, महिला उद्यमी सम्मान, बालअधिकार सचेतना, डिजिटल मार्केटिङ तथा एआई सम्बन्धी कार्यक्रम, कविता प्रतियोगिता लगायतका विविध कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।

आयोजकले महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन स्थानीय उद्योगी, कृषि उद्यमी, स्वास्थ्य तथा शिक्षण संस्था, कलाकार, साहित्यकार तथा सरोकारवाला सबैलाई प्रदर्शनीमा सहभागी हुन अपिल गरेको छ।

Facebook Comments