• १६ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ क्षेत्र नं १ मा प्रकाश शाहीको र्याली प्रदर्शन




श्रवण कुमार यादव
दाङ। दाङ क्षेत्र नम्बर १ विप्लव नेतृत्वको नेकपा (माओवादी) का युवा उम्मेदवार प्रकाश शाहीको समर्थनमा शुक्रबार भव्य र्याली तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। मौरिघाटबाट सुरु भएको र्यालीलाई भालुवाङ, कालाकाटे, गढवा, राजपुर र लमही हुँदै पुनः मौरिघाटमै पुगेर कोणसभामा परिणत भएको थियो।

बाइक र्यालीसहित सम्पन्न कार्यक्रममा विभिन्न स्थानका युवा समर्थकको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीका जिल्ला तथा केन्द्रस्तरीय नेता–कार्यकर्ता, समानुपातिक उम्मेदवारहरूकाे उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार प्रकाश शाहीले यो निर्वाचन निरन्तरताको नभई परिवर्तनको निर्वाचन भएको बताए। उनले विगत एक दशकभन्दा लामो समयदेखि मेहनत गर्ने श्रमिक, किसान, मजदुर, युवा र उत्पीडित समुदायको पक्षमा आवाज उठाउँदै आएको आफ्नो पार्टी जनताको वास्तविक मुद्दा लिएर मैदानमा उत्रिएको स्पष्ट पारेका हुन्।

“यो निर्वाचनमा जनताको पीडा, सपना र भविष्यको फैसला हुने छ,” शाहीले भने, “देशका युवाले के चाहन्छन्, किसानले के चाहन्छन्, मजदुर र विद्यार्थीले के चाहन्छन्—त्यसको उत्तर खोज्दै हामी निर्वाचनमा गएका हौँ।” उनले पुराना पार्टी र अवसरवादी प्रवृत्तिप्रति संकेत गर्दै जनताको रगत–पसिनाबाट संकलित स्रोतको दुरुपयोग गर्नेहरूलाई यसपटकको चुनावमार्फत सबक सिकाउनुपर्नेमा जोड दिएका थिए।

शाहीले ‘भेल बढीले सिँचाइ हुँदैन’ भन्दै नारा र उपमामार्फत मतदातालाई सजग हुन आग्रह गरे। उनका अनुसार अचानक देखिने लोभलाग्दा प्रवाहले दीर्घकालीन समाधान नदिने र जनताको जीवनमा स्थायी परिवर्तन साँचो संघर्ष र इमानदार नेतृत्वबाट मात्र सम्भव हुन्छ।

सम्बोधनका क्रममा उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई समान अधिकारको विषयका रूपमा उठाउँदै विदेश पलायन भएका युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, सुकुम्बासी, भूमिहीन, आदिवासी तथा थारु समुदायको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने बताएका छन्।

“मत हाल्दा आफ्नो गाउँबाट विदेशिएको छोरा, पढेर बेरोजगार बसेको युवा, उपचार नपाएर भौतारिएको बिरामी र खेतमा बिउ नपाएर हैरान किसानको अनुहार सम्झनुहोस्,” भन्दै उनले भावुक अपिल गरेका हुन्।

कार्यक्रमको अन्त्यमा शाहीले दाङ क्षेत्र नम्बर १ का मतदातालाई पुरानो सोच होइन, नयाँ दृष्टिकोण रोज्न आग्रह गर्दै परिवर्तनको प्रतीक गुलाब चिन्हमा मतदान गर्न अनुरोध गरे। उनले भ्रष्टाचार, अन्याय र असमानताविरुद्धको संघर्षलाई निर्वाचनपछि पनि निरन्तर अघि बढाउने प्रतिबद्धतासहित र्यालीमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।

Facebook Comments