• ९ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुर घटनाले सामाजिक सद्भाव खलबल्याउने खतरा : घिमिरे




दाङ। नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का उम्मेदवार किरणकिशोर घिमिरेले सडकमा मुठभेडको स्थिति सिर्जना हुनु लोकतन्त्रका लागि शुभ सङ्केत नभएको बताएका छन् ।

तुलसीपुरमा नेकपा (एमाले) को झण्डा जलाइएको घटनाप्रति प्रतिक्रिया दिंदै उम्मेदवार घिमिरेले राजनीतिक विचार र आस्थाका आधारमा एकअर्काको अस्तित्वलाई स्वीकार गर्न नसकी सडकमा मुठभेडको स्थिति सिर्जना हुनु लोकतन्त्रका लागि शुभ सङ्केत नभएको बताएका हुन् ।

नेता घिमिरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला दुई दिनका यी घटनाक्रमले राजनीतिक दलहरूमा बढ्दै गएको अतिवादलाई झल्काएको बताएका छन् । दाङको तुलसीपुरमा नेकपा (एमाले) को झण्डा जलाइएको घटना र त्यसको प्रतिक्रियास्वरूप आज सिर्जना भएको कालो झण्डा प्रदर्शन तथा झडपको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

बिज्ञप्तिमार्फत उम्मेदवार घिमिरेले भनेका छन्,`राजनीतिक विचार र आस्थाका आधारमा एक-अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्नु र सडकमा मुठभेडको स्थिति सिर्जना हुनु लोकतन्त्रका लागि शुभ सङ्केत होइन । एउटा पक्षले झण्डा जलाउने र अर्को पक्षले त्यसको प्रतिवादमा झडपमा उत्रिने जुन द्वन्द्वको अवस्था देखिएको छ, यसले निर्वाचनको गरिमालाई धमिलो बनाउनुका साथै शान्तिपूर्ण चुनावी वातावरणलाई गम्भीर चुनौती दिएको छ ।’

दङगाली जनता सधैं सशक्त लोकतन्त्र, सहअस्तित्व र भाइचारामा विश्वास गर्ने सचेत नागरिक रहेको घिमिरेले बताएका छन् । ‘ यहाँको माटोले कहिल्यै पनि हिंसा र असहिष्णुतालाई स्वीकार गरेको छैन । तर, अहिले देखिएको यो उग्र र अराजक शैलीले दाङको त्यो गौरवपूर्ण सामाजिक सद्भावलाई खलबल्याउने प्रयास गरिरहेको छ ।

जुनसुकै राजनीतिक शक्ति वा समूह भए पनि, लोकतन्त्रको नाममा गरिने यस्ता अतिवादी क्रियाकलाप र दण्डहीनता कसैका लागि पनि हितकर हुन सक्दैनन् । विचारको लडाइँ मतदान केन्द्रमा हुनुपर्छ, सडकमा ढुंगा हानाहान वा झण्डा जलाएर होइन । तसर्थ, म दुवै पक्षलाई संयमित हुन र अतिवाद त्यागेर संवाद र शान्तिको बाटो रोज्न हार्दिक आग्रह गर्दछु ।’ घिमिरेले विज्ञप्तिमा बताएका छन् ।

आगामी फागुन २१ गतेको निर्वाचनलाई मर्यादित र स्वस्थ प्रतिस्पर्धाको रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व भएको भन्दै उम्मेदवार घिमिरेले स्थानीय प्रशासनलाई द्वन्द्व थप बढ्न नदिन शान्ति सुरक्षा कायम गर्न विशेष सक्रियता अपनाउन समेत आग्रह गरेका छन ।

लोकतन्त्रको सुन्दरता नै स्वस्थ प्रतिस्पर्धा र एक-अर्काको अस्तित्वको सम्मान भएको भन्दै उम्मेदवार घिमिरेले भनेका छन्,` मतदाता र राजनीतिक कार्यकर्ताहरूलाई कुनै पनि प्रकारको उत्तेजना, उक्साहट वा प्रतिशोधको राजनीतिमा नलागी शान्ति र सद्भावयुक्त वातावरणमा निर्वाचन सफल पार्न म विशेष अपिल गर्दछु । यसलाई बचाउन हामी सबै जिम्मेवार बनौँ ।’

Facebook Comments