• २ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चुनाव प्रचारप्रसार अभियानलाई व्यापक बनाउने माओवादीको निर्णय




घोराही, २ फागुन  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ निर्वाचन क्षेत्र नं. २ को मूल निर्वाचन परिचालन समितिको  प्रचारप्रसार बैठक सम्पन्न भएको छ । समितिको आज शनिबार घोराहीस्थित झिंगौरामा बसेको बैठकले  निर्वाचन आयोगको नियमअनुसार फागुन ४ गतेदेखि १८ गतेसम्म चुनाव प्रचारप्रसार अभियानलाई व्यापक बनाउने निर्णय गर्ने गरेको हो ।

बैठकले फागुन ४ गते खैरा – नारायणपुर,  ५ गते सौडेकुला, ७ सर्रा,  ८ गते बिजौरी, ९ दुधरास, १० मजगैं, ११ र १२ गते बंगलाचुली, १३ गते सुनपुर, १४ र १५ घोराही बजार, १६ गते  ६ र ७ वडा, १७ गते ओखरा र १८ गते डुम्मरगाउंँमा चुनावी घरदैलो अभियान गर्ने निर्णय गरेको छ । त्यसैगरी  निर्वाचन क्षेत्र नं. २ का सबै वडाहरुमा निर्वाचन परिचालन समिति बनाएर प्रचारप्रसार अभियानलाई तीब्र बनाउने समेत बैठकले निर्णय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)  दाङ निर्वाचन क्षेत्र नं. २  का मूल निर्वाचन परिचालन समितिका संयोजक पाटन सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा  बैठक बसेको थियो ।

पार्टीका जिल्ला इञ्चार्ज सविन सीले पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी चुनावी अभियान अगाडि बढेको बताउनुभयो । उहाँले चुनाव भनेको लडाइको एउटा मोर्चा भएको हुँदा मेहनतकासाथ चुनावी प्रचारप्रसार अभियानलाई व्यापक बनाउनुपर्ने समेत बताउनुभयो । अहिले भोट कता जाने भन्ने कुनै टुंगो नभएको हुँदा मतदाताहरुसम्म पुगेर पार्टीका नीति र योजना बुझाएर गुलाफको फूलमा मत हाल्न अपील गर्नुपर्ने उहाँको भनाइ छ । पार्टी र संगठन भएका वडा र बस्तीहरुलाई सुरक्षीत बनाउन सकियो भने निर्वाचनमा परिणाम राम्रो आउने उहाँले बताउनुभएको थियो ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले दाङमा तीन वटा मूल निर्वाचन परिचालन समिति गठन भएर चुनावी अभियान अगाडि बढीरहेको बताउनुभयो । उहाँले विभिन्न भ्रमित प्रचारलाई राजनीति रुपबाटै जवाफ दिन सक्नुपर्ने समेत बताउनुभयो । जिल्लाभरी नै निर्वाचनको माहोल पार्टीप्रतिको राम्रो रहेको जानकारी दिँदै चुनावलाई  संघर्षको रुपमा लिनुपर्ने उहाँको भनाइ छ । घरदैलो अभियानको क्रममा मतदाताहरुको घरघरमा पुग्दा पार्टीप्रति बढ्दो आकर्षण देखिएको हुँदा चुनावी अभियानलाई बस्तीस्तरमा व्यापक बनाउनुपर्ने उहाँले बताउनुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को दाङ निर्वाचन क्षेत्र नं. २  का मूल निर्वाचन परिचालन समितिका संयोजक पाटन सीले बैठकको बारेमा जानकारी दिँदै निर्वाचन आयोगको नियमअनुसार फागुन ४ देखि १८ गतेसम्म  क्षेत्र नं. २ को बिजौरीदेखि बंगलाचुलीसम्म औपचारिक चुनाव प्रचारप्रसार अभियानलाई व्यापक बनाउनुपर्ने बताउनुभयो । उहाँले वडा तहसम्मको कमिटीहरुले पनि चुनाव प्रचारप्रसारलाई  योजनाबद्द  रुपमा अगाडि बढाउनुपर्ने समेत बताउनुभएको थियो ।

निर्वाचन क्षेत्र नं. २ समानुपातिक उम्मेदवार अशोका भण्डारीले हालसम्म चुनावी लक्षित घरदैलो  अभियानलाई तीब्रता दिएको बताउनुभयो । उहाँले घरदैलो अभियानको क्रममा व्यक्तिगत र पार्टीको परिचय दिँदै चुनावमा गुलाफको फूलमा भोट माग्ने र भोट हाल्ने विषयमा मतदाताहरुलाई सहजीकरण गर्दै आइरहेको समेत बताउनुभएको थियो ।

बैठकमा सहभागी वडका इञ्चार्ज तथा सेक्रेटरीहरुले चुनावी रिपोर्टिङ राख्दै फागु २१ गते हुने निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि बस्तीस्तरसम्म पुगेर प्रचारप्रसार व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।

Facebook Comments