• २६ माघ २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सञ्जीवनी शिक्षण अस्पतालको सेवा माघ २८ देखि सञ्चालनमा आउने




घोराही । घोराही उपमहानगरपालिका -३ गोग्लीस्थित सञ्जीवनी शिक्षण अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ ।   तीन सय शैया क्षमता भएको अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरुको साथमा अस्पतालको सेवा  यही माघ २८ गते बुधबारदेखि सञ्चालनमा आउने भएको हो । अस्पतालले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी अस्पतालको सेवा सञ्चालनमा आउने बारेमा जानकारी गराएको थियो ।

अस्पतालका  प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले चार अर्ब लगानीमा निर्माण गरिएको शिक्षण अस्पतालको सेवा माघ २८ गते औपचारिक रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले `केयर फर अल´ भन्ने मूल नाराका साथ २०७८ सालमा घोराही-३ बर्गदुवामा निर्माण कार्य प्रारम्भ भएको यस अस्पतालको तीन वर्ष लामो समय पश्चात्  भौतिक संरचनासहितको सम्पूर्ण तयारी  पूरा भएको हुँदा अस्पतालको सेवा बुधबारदेखि  सञ्चालन  आउने बताउनुभयो । संघीय जनसंख्या तथा स्वास्थ्य मन्त्रालयबाट तीन सय शैयाको अस्पताल सञ्चालनको स्वीकृति लिएर सोहीअनुसार अस्पताल सञ्चालनका लागि सबै तयारी पूरा गरी अस्पतालबाट सम्पूर्ण सेवाहरु  एकैसाथ सुरु गर्न लागिएको समेत उहाँले बताउनुभयो ।

निजी क्षेत्रको लगानीमा स्थापना भएको यस अस्पतालले जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ तथा अन्य मौजुदा कानुनको अधिनमा रही आफ्‌नो सेवा प्रवाह गर्ने पनि उहाँले बताउनुभयो  । `अस्पतालको अल्पकालीन योजना अनुसार हालको लागि तीनसय शैयाको मल्टिस्पेशेयलीटि अस्पताल संचालनमा आउन लागेको हो´ उहाँले भन्नुभयो -`जसअन्तर्गत ओपिंडिमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, शिशु तथा वालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटि, डेन्टल, नेत्ररोग तथा फिजियोथेरापी विशेषज्ञ सेवा उपलब्ध हुनेछन्  भने  क्रिटिकल केयुरमा आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु र हेमोडायलासिस सेवा रहेका छन् ।´

त्यसैगरी रेडियोग्राफीतर्फ डिजिटल एक्स रे, भिडियो एक्स रे, म्यामोग्राफी, इसिजि, इको, सिटि स्क्यान, एम.आर.आइ., इन्टर्भेन्सनल इन्डोस्कपी, क्लोनस्कपी सेवा रहेका छन्  भने भर्ना हुनुपर्ने विरामीको लागि जनरल र डिलक्स क्यावीन रहेको सिइओ रोकाले बताउनुभयो  । उहाँका अनुसार अन्य सेवामा क्याथ ल्याव, पिएफटी, इएमजि, इइजि, व्लड बैंक र एम्बुलेन्स सेवा र चौविसै घण्टा इमेरजेन्सी, फार्मेसी र ल्याव सेवा उपलब्ध हुने तथा मोडुलर ओटीमा सामान्य तथा मेजर सर्जरीहरु हुनेछन् । साथै आगामी वर्षबाट नर्सिङ तथा पारामेडिक्स विषयहरु अध्यापन गराइने छ ।

दिर्घकालीन योजनाका रुपमा ठीक तीन वर्षपछि अस्पतालको शैया संख्या पाँच सय पुर्‍याउने तथा एमविविएस र विडिएस लगाएका शैक्षिक कार्यक्रमहरु संचालनमा ल्याइने उहाँको भनाइ छ  ।  हाल यस अस्पतालका करिब तीन सय ५० जना कर्मचारीहरुले रोजगारी प्राप्त गरेका छन् ।

संस्थाका सिइयो दिपक रोकाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै  अस्पतालले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्दै आम नागरिकहरुमा विश्वास दिलाउनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका म्यानेजर मदन पन्तले गर्नुभएको थियो ।

Facebook Comments