घोराही। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दाङ निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार निर्मल आचार्यले कोइलाबास भन्सार नाका दाङको व्यापारिक केन्द्रका रूपमा स्थापित हुनसक्ने भए पनि सञ्चालनमा आउन नसक्दा दाङको व्यापारिक क्षेत्रको विकास हुन नसकेको बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासंघले घोराहीमा गरेको व्यापारिक अन्तर्क्रियामा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
दाङको साविक राप्ती अञ्चलदेखि मध्यपश्चिमाञ्चलका पहाडी तथा हिमाली जिल्लाको प्रमुख भन्सार नाका रूपमा रहेको कोइलाबास भन्सार नाकालाई सञ्चालन गरी दाङको व्यापारिक क्षेत्रको विकासमा टेवा पुर्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
कोइलाबास भन्सार नाकालाई दाङ हुँदै रोल्पादेखि डोल्पासम्म जोड्न सकिने भएकाले व्यापारिक नाका रूपमा दाङ नै स्थापित हुने र त्यसका लागि कोइलाबास भन्सार नाका दाङका लागि कोसेढुंगा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “दाङको औद्योगिक क्षेत्रको अपूर्ण काम पूरा गर्दै कोइलाबास भन्सार नाका सञ्चालन गर्नु मेरो पहिलो काम हुनेछ ।” यसले निजी व्यापारिक क्षेत्रको प्रवर्द्धन मात्र होइन, दाङलाई व्यापारिक हबका रूपमा विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।
उहाँले दाङको निजी व्यापारिक क्षेत्रको विकासका लागि सहिद मार्गको स्तरोन्नति, घोराही–प्यूठान सडकको स्तरोन्नति, निजी क्षेत्रका आन्तरिक समस्याको दीर्घकालीन समाधान, लगानीमैत्री वातावरण सिर्जना तथा रोजगारउन्मुख दाङ निर्माणका लागि आफू क्रियाशील रहेको बताउनुभयो।
दाङ लुम्बिनी प्रदेशको राजधानी भएकाले यहाँ हवाई यातायात सेवा सञ्चालन अति आवश्यक रहेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रको विकासका लागि टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा नियमित उडान सञ्चालनको व्यवस्था र पहल आफ्नो प्रमुख दायित्व र जिम्मेवारी रहेको बताउनुभयो।
उहाँले दाङमा निजी लगानीकर्ताको आकर्षण बढ्दै गएकाले हिमाली तथा पहाडी जिल्लासँगको व्यापारिक सम्बन्ध विस्तारका लागि सहज यातायात पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। दाङसँग जोडिएका पहाडी तथा हिमाली जिल्लामा सहज सडक सञ्जाल विकासलाई पूर्णता दिन आवश्यक पहल र प्रयास गर्ने उहाँको भनाइ थियो।
नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीकी समानुपातिक उम्मेदवार भीमकुमारी बुढा, पार्टीका केन्द्रीय सदस्य हेमराज शर्मालगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासंघका नगर सचिव विकास वलीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
