• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघका बैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग




नेपाल पत्रकार महासंघ अन्तर्गत स्थापित बैदेशिक शाखाहरूले महासंघको केन्द्रीय संरचना, निर्वाचन प्रक्रिया तथा निर्णय प्रणालीमा समान सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्।

नेपाल पत्रकार महासंघ लेखा समिति सदस्यका उपविजेता गणेश प्रसाद बन्जाडेले महासंघको केन्द्रीय समितिलाई सम्बोधन गर्दै बुझाएको औपचारिक निवेदनमार्फत प्रवासमा स्थापित शाखाहरूलाई लामो समयदेखि उपेक्षा गरिएको गम्भीर आरोप लगाउनुभएको छ।

निवेदनमा उल्लेख भएअनुसार, प्रवासमा बसोबास गर्ने करिब पचास लाख नेपालीको आवाज प्रतिनिधित्व गर्ने बैदेशिक शाखाहरू नेपाली पत्रकारिता प्रवर्द्धन, प्रवासी समुदायका मुद्दा, समाचार तथा आवाजलाई विश्वसमक्ष पुर्‍याउन सक्रिय रहँदै आएका छन्। तर महासंघका निर्वाचन, नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सीमित बनाइँदै आएको र विगतमा प्राप्त कतिपय अधिकारसमेत कटौती गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।

निवेदनमार्फत महासंघको केन्द्रीय समितिसमक्ष तीन प्रमुख माग प्रस्तुत गरिएको छ। महासंघको विधानअनुसार सबै सदस्यलाई मतदान अधिकार सुनिश्चित हुनुपर्ने व्यवस्था रहे पनि प्रवास शाखाका सदस्यहरूलाई विभिन्न कारण देखाउँदै वञ्चित गरिएको उल्लेख गर्दै केन्द्रीय समितिको निर्वाचनमा बैदेशिक शाखाहरूलाई पनि मतदान अधिकार सुनिश्चित गर्न माग गरिएको छ।

त्यस्तै, केन्द्रीय कार्यसमितिमा बैदेशिक शाखाहरूको तर्फबाट कम्तीमा एक जना प्रतिनिधिलाई मनोनयन वा निर्वाचनमार्फत समावेश गर्ने स्थायी र दिगो व्यवस्था गर्नुपर्ने माग अघि सारिएको छ। साथै जिल्ला, प्रदेश, राजधानी उपत्यका, प्रतिष्ठान तथा मिडिया हाउससरह संरचनाका रूपमा बैदेशिक शाखाहरूलाई पनि समान हैसियत र दृष्टिकोणले हेरी महासंघका सबै गतिविधिमा समान सहभागिताको अवसर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

बन्जाडेले प्रस्तुत मागहरूले महासंघको समावेशी, लोकतान्त्रिक र समान सहभागितामूलक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। लामो समयदेखि प्रवासमा क्रियाशील पत्रकार संगठनहरूले उठाउँदै आएको यो विषयले महासंघको केन्द्रीय संरचनामा नीतिगत बहस र संरचनागत सुधारको प्रक्रिया थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments