दाङ। नेपाली कम्युनिस्ट पार्टी, दाङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार निर्मल आचार्यले जेष्ठ नागरिक दिवा सेवा समाजसँग भेटघाट गर्नुभएको छ। उहाँले बुधबार घोराही उपमहानगरपालिका–१४ स्थित सब्जीमण्डीमा रहेको जेष्ठ नागरिक दिवा सेवा समाजमा पुगेर जेष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट गर्दै आशीर्वाद लिनुभएको हो।
कार्यक्रममा उम्मेदवार आचार्यले जेष्ठ नागरिकहरूको सम्मान, हकहित र संरक्षणप्रति पार्टी तथा आफ्नो व्यक्तिगत प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जेष्ठ नागरिकहरू समाजका अमूल्य अनुभव र मार्गदर्शक भएको उल्लेख गर्दै नीति निर्माणमा उनीहरूको अनुभवलाई महत्व दिने धारणा राख्नुभयो।

कार्यक्रममा जेष्ठ नागरिक चित्रकान्त आचार्यले आजका युवा उम्मेदवारहरूले जेष्ठ नागरिकलाई सम्झेर यहाँसम्म आउनु सुखद भएको बताउनुभयो। उहाँले निर्मल आचार्यजस्तो स्वच्छ छवि र जनतासँग नजिकको उम्मेदवारले जेष्ठ नागरिकको पीडा र आवश्यकतालाई बुझ्नुहुने विश्वास व्यक्त गर्नुभयो।
भेटघाट कार्यक्रमका क्रममा उम्मेदवार आचार्य जेष्ठ नागरिकहरूसँग नाचगानमा समेत सहभागी हुनुभएको थियो। नाचगान र सामूहिक सहभागिताले कार्यक्रमलाई थप आत्मीय र उत्साहपूर्ण बनाएको बताइएको छ।
जेष्ठ नागरिक दिवा सेवा समाजका पदाधिकारी तथा सदस्यहरूले उम्मेदवार आचार्यलाई सफलताको शुभकामना दिँदै आगामी दिनमा जेष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
