• २६ माघ २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पार्टीको नीति जनताको घरघरमा पुर्याउन नेता आचार्यको आग्रह




दाङ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङ निर्वाचन क्षेत्र नम्बर दुईको बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ। बैठकले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन मजबुत बनाउने र मतदातासम्म प्रभावकारी रूपमा पुग्ने आह्वान गरेको छ।

बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन संगठनात्मक संरचना सुदृढ गर्नुपर्ने र जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले पार्टीको नीति, विचार र कार्यक्रमलाई घर–घरमा पुर्‍याउन सबै तहका नेता तथा कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

क्षेत्रीय संयोजक गजेन्द्रसिंह खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका तर्फबाट संघीय निर्वाचनका समानुपातिक उम्मेदवार भिमकुमारी बुढा र सस्मति चौधरीले आफूहरू निरन्तर रूपमा क्षेत्रको विकास र जनसरोकारका काममा सक्रिय रहेको दाबी गर्नुभयो।

उहाँहरूले पार्टीभित्रबाट अनुमोदन भइसकेको उल्लेख गर्दै अब जनताबाट अनुमोदित हुने चरणमा रहेको बताउनुभयो।
बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्यहरू गिरिराज केसी, रामबहादुर दहित, तुल्सीराम पुन, हरिमान पुन, ध्रुव आचार्य, अजयदीप शर्मा, रामप्रसाद चौधरी र भूपबहादुर केसीलगायतले पार्टी संगठन तल्लो तहसम्म सुदृढ र एकताबद्ध बन्दै गएको दाबी गर्दै निर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो। संघीय निर्वाचनका लागि उम्मेदवार दर्ताको समय यही माघ छ गते रहेकाले उक्त दिन हजारौं नेता–कार्यकर्ता उपस्थित हुने जानकारी पनि दिइयो।

यस्तै, बैठकमा सहभागी कार्यकर्ताहरूले जनताको भावना र आवश्यकता बुझेर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका थिए। विगतका कमजोरी सच्याउँदै जनतासँग क्षमायाचना गर्नुपर्ने तथा जनता र कार्यकर्तामाझ प्रत्यक्ष पुगेर समस्या र गुनासाहरूको समयमै सम्बोधन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

नेकपा लुम्बिनी प्रदेश सदस्य प्रमिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन राजबहादुर परियारले गर्नुभएको थियो।

Facebook Comments