दाङ । घोराहीमा दैनिक रूपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको झोर्ले दोहोरी साँझको आयोजनामा आज माघी विशेष सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुँदैछ। माघी पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रम आज साँझ ६ बजेदेखि राति १०ः३० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ। सांगीतिक प्रस्तुतिमा बालचन्द्र बराल, नन्द निर्मल थापा, मिना बुढाथोकी, रमिला बुढा मगर, पूर्णिमा सुनार तथा पार्वती परियारले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।
त्यसैगरी कार्यक्रमलाई थप आकर्षक बनाउन मोडल एलिना रायमाझी, रविना थापा तथा खिमा बुढा मगरको दमदार नृत्य प्रस्तुति पनि रहनेछ।
झोर्ले दोहोरी साँझका सञ्चालक प्रकाश पुनका अनुसार झोर्ले दोहोरीले विगतदेखि नै नियमित रूपमा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। “दर्शकको चाहनालाई मध्यनजर गर्दै स्थानीय कला, संस्कृति र मौलिकतालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर कार्यक्रम गर्दै आएका छौँ। माघी पर्वको अवसरमा यसपटक कार्यक्रमलाई अझ विशेष बनाएका छौँ,” उनले बताए।
यसैबीच, झोर्ले दोहोरीले आजै घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दहमा पनि ‘प्रथम झोर्ले माघी विशेष सांस्कृतिक कार्यक्रम’ आयोजना गरेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
