आलोक भावुक
देउखुरी। गढवा गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोग तथा मुक्त कमलरी विकास मञ्च गढवा नगर कमिटीको आयोजनामा माघी मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मुक्त कमलरी विकास मञ्च गढवाकी अध्यक्ष सिमा चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारु प्रमुख अतिथि रहनुभएको थियो भने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदाकुमारी चौधरी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले कमलरी मुक्तिको घोषणा भएको लामो समय बितिसक्दा पनि मुक्त कमलरीहरूको अवस्था सन्तोषजनक नभएको बताउनुभयो। सतप्रतिशत मुक्त कमलरीले सरकारी परिचयपत्र नपाउँदा राज्यले उपलब्ध गराउने सेवा–सुविधाबाट बञ्चित हुनुपरेको अवस्था रहेको उहाँको भनाइ थियो। क्याम्पस तहमा अध्ययनरत मुक्त कमलरीहरूले छात्रवृत्ति नपाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले मुक्त कमलरीको पक्षमा निरन्तर वकालत र दबाब आवश्यक रहेको उल्लेख गर्नुभयो। प्राप्त उपलब्धीको रक्षा गर्दै आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लामो संघर्षपछि सरकारले २०७० असार १३ गते कमलरी प्रथा अन्त्यको घोषणा गरेको स्मरण गर्नुभयो। विगतमा माघी पर्व थारु समुदायका छोरीहरूलाई दास बनाउने पर्वका रूपमा रहेको उल्लेख गर्दै उहाँले अहिले समाजमा क्रमशः सकारात्मक परिवर्तन आएको बताउनुभयो। “पहिले माघी आउनासाथ घरघरमा छोरीलाई कमलरी पठाउने चर्चा हुन्थ्यो, तर अहिले चेतना बढेको छ,” उहाँले भन्नुभयो। मुक्त कमलरीहरूको शिक्षा, सीप, रोजगारी र जमिनसहितको पुनर्स्थापनाको मूल नारा साकार पार्न गाउँपालिका सधैं सहयोगी रहने उहाँको प्रतिबद्धता थियो।
मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माघी पर्व सुन्नेबित्तिकै जमिनदारहरूले घरमै आएर मोलमोलाइ गर्ने पीडादायी स्मृति अझै ताजा रहेको बताउनुभयो। “माघीमा गएपछि फेरि अर्को माघीमा मात्र घर फर्कने आशामा बस्नुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो। माघी दासताको प्रतीक बनेको र यसले धेरै थारु बालिकाको भविष्य अन्धकार बनाएको उहाँको भनाइ थियो।
वडा नम्बर ४ का वडा अध्यक्ष हरीभगत चौधरीले सरकारले कमलरी मुक्त घोषणा गरे पनि शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता नहुँदा मुक्त कमलरीहरू अझै अरूको सहारामा बस्न बाध्य रहेको बताउनुभयो। माघी पर्व चेलीबेटी बेच्ने पर्व जस्तै बनेको पीडादायी इतिहास स्मरण गर्दै उहाँले आज पनि त्यो त्रास झल्झली सम्झना आउने उल्लेख गर्नुभयो।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुल्सीराम अधिकारी, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्तकुमार शर्मा, मुक्त कमलरी विकास समिति राजपुरकी अध्यक्ष बिमला चौधरी, राप्तीकी अध्यक्ष लक्ष्मी चौधरी, पूर्व मुक्त कमलरी लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रमको सुरुवात पूर्व मुक्त कमलरी तथा मुक्त कमलरी विकास मञ्च गढवाकी सल्लाहकार सुनिता चौधरीको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन सल्लाहकार रम्भा चौधरीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
