पूर्ण घर्ति
एक राजनीतिक विश्लेषण
इतिहासको गर्तमा कतिपय मितिहरू केवल पात्रोका पाना पल्टाउनका लागि मात्र आउँदैनन् । ती समाजको चेतना र राजनीतिको दिशा मापन गर्ने कडी बनेर आउँछन् । गत पुष २६ गते रुकुम पश्चिमको सदरमुकाम मुसिकोट (खलंगा) मा उर्लिएको अभूतपूर्व जनसागर केवल एउटा ‘एकता सन्देश’ कार्यक्रम मात्र थिएन । यो रुकुमेली जनताको सात दशक लामो अविचलित निष्ठा र बदलिँदो राजनीतिको द्वन्द्वात्मक प्रतिबिम्ब पनि थियो ।
पात्र फेरिए, प्रवृत्ति फेरिएन
रुकुमको कम्युनिष्ट आन्दोलनको इतिहासमा नेतृत्वको पलायन वा विचलन कुनै नयाँ परिघटना होइन । पञ्चायत काल, बहुदल, जनयुद्ध हुँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पार्टीबाट अलग हुने र पलायन हुने नेतृत्वको श्रृंखला लामो छ । जनार्दन शर्मा यो ऐतिहासिक श्रृंखलाका एक पात्र मात्र हुन् । रुकुमको समृद्धि र आन्दोलनको जस कुनै एक व्यक्तिलाई मात्र जाँदैन । यो त २००९ सालमा कमरेड कामी बुढाले रोपेको त्यो बिउको परिणाम हो, जसलाई इतिहासका विभिन्न कालखण्डमा हजारौँ भुइँमान्छेहरूले आफ्नो रगत र पसिनाले सिँचेर हुर्काएका हुन् ।
नपत्याइएका पात्रहरूको अजेय इतिहास
जनयुद्धका कठिन र संगीन घडी सम्झौँ, जब रुकुमेली धर्तीका कैयौँ होनहार योद्धाहरू दिनानुदिन सहादत प्राप्त गरिरहेका थिए । कतिपय जिम्मेवार नेताहरू दुश्मनको जेलमा थिए भने कतिपय वरिष्ठ नेता र योद्धाहरू जिल्लाको भूगोलभन्दा बाहिरका मोर्चामा खटिएका थिए । नेतृत्वको एउटा ठूलो हिस्सा भौतिक रूपमा जिल्लामा अनुपस्थित रहँदा पनि रुकुमको आन्दोलन कत्ति पनि डगमगाएन, बरु आफ्नै गतिमा अघि बढिरह्यो ।
‘नपत्याइएका’ भनिएका मानिसहरूले आन्दोलनलाई बचाउँदै देशमै पहिलो पटक हतियार कब्जा, श्वेत इलाकामा सशस्त्र कब्जा अभियान, जन कम्युन, जन नमुना विद्यालय, जन अदालत स्थापना गर्दै २५ हजार जनताको बीचमा ‘जनसरकार’ घोषणा गरेको गौरवशाली इतिहास कुनै व्यक्तिको वैशाखीमा अडिएको थिएन । पुष २६ को सन्देश पनि यही हो । रुकुम कुनै व्यक्तिको पेवा होइन, यो सामूहिक बलिदान र अविचलित निष्ठाको लालकिल्ला हो।
‘भीड’ कि ‘शक्ति’? एक निर्मम प्रश्न

मार्क्सवादी संगठनात्मक सिद्धान्तको कसीमा घोटेर हेर्दा मुसिकोटमा उपस्थित जनसागर आफैँमा अन्तिम परिणाम होइन । चुनावी राजनीतिमा “यौटाको मेशमा भात खाने र अर्कोलाई मतदान गर्ने” अवसरवादी संस्कृतिको अवशेष अझै जीवित छ । त्यसैले यो उपस्थितिलाई अनुशासित र प्रतिबद्ध संगठनमा रूपान्तरण गर्नु नै नेतृत्वको मुख्य चुनौती हो ।
भीड (Quantity) जबसम्म विचारले सुसज्जित संगठन (Quality) मा रूपान्तरण हुँदैन, तबसम्म त्यो शक्ति केवल एउटा ‘राजनीतिक प्रदर्शनी’ मा सीमित हुन्छ । विरोधीलाई गाली गरेर होइन, आफ्नै पारदर्शी जीवनशैली र स्पष्ट नीतिले मात्र जनताको विश्वास जोगाउन सकिन्छ ।
जनवादी केन्द्रीयता र नयाँ पुस्ताको अपेक्षा
“जनवादको जगमा उभिएको केन्द्रीयता र केन्द्रीयताको मार्गदर्शनमा उभिएको जनवाद” नै कम्युनिष्ट पार्टीको प्राण हो । अहिले रुकुममा अनुभवी पुस्ताको ‘त्याग’ र नयाँ पुस्ताको ‘अपेक्षा’ बीच द्वन्द्व देखिन्छ । शीर्ष नेतृत्वको बुझाइमा एकरूपता र कार्यान्वयनमा इमान्दारिता भए मात्र यो अन्तरपुस्तागत खाडल पुरिन सक्छ ।
केन्द्रित मानसिकता र कर्मचारीतन्त्रको स्वार्थका कारण सुशासनमा देखिएका कमजोरी समाधान नगरी केवल ‘इतिहासको ब्याज’ खाएर आगामी दिनको राजनीति सुरक्षित हुन सक्दैन ।
अबको बाटो र ऐतिहासिक अभिभारा
मुसिकोटको सभाले एउटा स्पष्ट सन्देश दिएको छ— रुकुम सधैँ विचार र मूलधारको पक्षमा उभिन्छ र व्यक्तिको देवत्वकरणभन्दा विचारको सर्वोच्चतालाई स्वीकार गर्छ । तर यो ऐतिहासिक जनसमर्थनलाई दिगो बनाउन प्रलोभन र भावनात्मक ब्ल्याकमेलिङको राजनीतिको प्रतिकार ‘डेलिभरी’ र ‘सुशासन’ ले गर्नुपर्छ । कामी बुढादेखि जनसरकार घोषणासम्मको गौरवशाली इतिहास जोगाउने जिम्मेवारी अब नयाँ पुस्ताको काँधमा आएको छ ।
एकता सन्देश कार्यक्रममा सहभागी जनसमुदायको अभूतपूर्व उपस्थिति र ऊर्जाले अतिथि र सहभागी सबैलाई उत्साहित बनाएको छ । तर आजको यो उत्साह भोलि कतै निराशामा बदलिने त होइन भन्ने गम्भीर चिन्ता र संशय पनि सँगै छ । इतिहास साक्षी छ— विचारहीन भीड जति छिटो जम्मा हुन्छ, लक्ष्यहीन भएपछि त्यति नै छिटो विसर्जन पनि हुन्छ ।
त्यसैले यस एकतालाई सार्थक बनाउन केवल भावनात्मक मिलन मात्र पर्याप्त छैन । यसको सही समाधानका लागि पार्टी निम्न आधारभूत स्तम्भमा उभिनु आवश्यक छः
• स्पष्ट वैचारिक दृष्टिकोण : मालेमावादका सार्वभौम सिद्धान्तलाई नेपाली माटोको मौलिकतामा ढाल्दै वर्तमान विश्व परिस्थिति र नेपाली समाजको वस्तुपरक विश्लेषण ।
• कार्यदिशा र कार्ययोजना : “हामी कहाँ जाने र कसरी जाने ?” भन्ने स्पष्ट रोडम्याप, जसले श्रमजीवी जनताको जीवनमा प्रत्यक्ष परिवर्तनको अनुभूति गराओस् ।
• चुस्त र मिलिट्यान्ट संगठन : कार्यकर्तालाई केवल ‘भोट बैंक’ वा ‘हुटिङ दस्ता’ का रूपमा होइन, सचेत राजनीतिक पहरेदारका रूपमा विकास गर्ने संगठनात्मक संरचना ।
• सामूहिक नेतृत्व र सुशासन : व्यक्तिवादको अन्त्य गर्दै सामूहिकताभित्र केन्द्रीकृत नेतृत्वको विकास र राजकीय सत्तामा पुगेका पात्रहरूको पारदर्शी जीवनशैली ।
अन्त्यमा, पुष २६ को जनसागरले नेतृत्वलाई एउटा ‘ब्ल्याङ्क चेक’ दिएको छ । यो चेकलाई समृद्धिको नाममा सही सदुपयोग गर्ने कि सत्ताको खेलमा साट्ने ? त्यो अब नेतृत्वको अग्निपरीक्षा हुनेछ । यदि नेतृत्वले जनभावनाअनुसार आफूलाई रूपान्तरण गर्न सक्यो भने रुकुमको यो रातो किल्ला अझै अभेद्य रहनेछ । अन्यथा इतिहासको निर्मम प्रहारबाट कसैले पनि उन्मुक्ति पाउने छैन ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
