चन्द्रप्रकाश नेपाली
सियोल, दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवरात्रिको पावन अवसरमा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्रि भोज कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ।
प्रवासी भूमिमा रहँदै मातृभूमिको कला, संस्कृति र पहिचानको संरक्षण गर्नुका साथै नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष किशन वलीले जानकारी दिनुभएको छ।

अध्यक्ष वलीका अनुसार कार्यक्रममा बागलुङे नौमती पञ्चेबाजा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको लाइभ सङ्गीत प्रस्तुति, विविध नृत्य कार्यक्रम तथा मादल, बाँसुरीलगायतका वाद्ययन्त्रको साथमा राप्ती क्षेत्रको स्थानीय झ्याउरे नाच प्रस्तुत गरिनेछ। साथै, मध्यरात बाह्र बजेसम्म पन्ध्र प्रकारका परिकार निःशुल्क रूपमा उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा प्रवेश शुल्कबापत् प्रति व्यक्ति साठी हजार कोरियन वन लिइने पनि आयोजकले जनाएको छ।
उक्त कार्यक्रम सन् २०२६ फेब्रुअरी पन्ध्र तारिख आइतबार बेलुकी साढे छ बजेदेखि 서울시 종로구 종로 ६३–८ (दोस्रो तला, पानोरामा) मा आयोजना हुने तय गरिएको छ।
राप्ती समाज दक्षिण कोरियाका महासचिव अर्जुन केसीले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणा गर्नुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
