श्रवण कुमार यादव
देउखुरी । राजपुर गाउँपालिका क्षेत्रभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूको बैठक राजपुर हिमालय इङ्गलिस बोर्डिङ स्कुल, चङ्गुवा मा सम्पन्न भएको छ।
बैठकमा व्यापक छलफलपछि टोपेन्द्र खनालको अध्यक्षतामा “संस्थागत विद्यालय समन्वय समिति राजपुर” गठन गरिएको छ। गठित समितिको सचिवमा युवराज के.सी., कोषाध्यक्षमा उमा भण्डारी र सदस्यमा उमाकान्त यादव चयन भएका छन्।
यसैगरी बैठकले चारवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। पारित निर्णयअनुसार आगामी शैक्षिक सत्र २०८३ का लागि शुल्क एकरूपता सहजीकरण तथा शैक्षिक क्यालेन्डर निर्माण गर्न उमाकान्त यादवको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसमितिमा टोपेन्द्र खनाल, रितुकल सारु मगर र उमा भण्डारी सदस्य रहेका छन्।
त्यसैगरी छिमेकी पालिका गढवा र लमहीका शिक्षा शाखा तथा प्याब्सन/एनप्याब्सन प्रतिनिधिसहित अन्तरक्रिया कार्यक्रम आयोजना गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि राजपुर गाउँपालिका शिक्षा शाखासँग सहयोग माग गर्ने निर्णय गरिएको छ। बसन्त पञ्चमीको अवसरमा स्थानीयस्तरमा सामाजिक कार्य गर्ने र आगामी बैठक नियमित रूपमा प्रत्येक महिनाको पहिलो शुक्रबार बस्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा राजपुर गाउँपालिकामा रहेका फेमिली प्याराडाइज इ.बो. स्कुल (मटेरिया), देउखुरी ग्रीनल्यान्ड इ.बो. स्कुल (बेला), राजपुर हिमालय बोर्डिङ स्कुल (चङ्गुवा) र बुद्ध किरण इ.बो. स्कुल (गंगदी) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
