• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण भलिबलमा पत्रकार महासंघ दाङ विजयी




दाङ। प्याब्सन दाङको पैंतीसौँ स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखा विजयी भएको छ। स्थापना दिवसको दोस्रो दिन आयोजक प्याब्सन र पत्रकार महासंघबीच भएको खेलमा पत्रकार महासंघले लगातार दुई सोझो सेटमा जित हात पारेको हो।

बुधबार घोराही उपमहानगरपालिका–तेह्र स्थित प्रज्ञान एकेडेमीको खेलमैदानमा सम्पन्न खेलको पहिलो सेटमा पत्रकार महासंघले पच्चिस–बाइसको जित निकालेको थियो भने दोस्रो सेटमा पच्चिस–सत्रको स्पष्ट अग्रतासहित खेल आफ्नो पक्षमा पारेको थियो। खेल प्रतिस्पर्धात्मक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको तर्फबाट हेमराज परिवर्तनको कप्तानीमा सविन प्रियासन, नरेन्द्र केसी, हिमाल महरा, भुवन थापा, अभिषेक बोहरा, लालसुर विष्ट, रमेश खड्का, लोकराज पौडेल र चन्द्रबहादुर डाँगीलगायत पत्रकारहरूको सहभागिता रहेको थियो।

यस्तै, प्याब्सनको टोलीतर्फ चित्रबहादुर घर्तिको कप्तानीमा केशव थापा, हरिप्रसाद पौडेल, किरण न्यौपाने, अर्जुन घर्ति, नारायण बुढा, लोकराज गिरी, काशीराम घर्तिमगर र सुनिल गौतम सहभागी भएका थिए। खेलको रेफ्रीको भूमिकामा नवराज खत्री र रमेश चौधरी रहनुभएको थियो।

कार्यक्रम प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्द र सल्लाहकार पोषण न्यौपानेको उपस्थिति रहेको थियो।

यसैगरी प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वली, सल्लाहकार केशरमान बुढाथोकी, प्याब्सन दाङका सचिव आदिम केसी, प्याब्सन घोराहीका उपाध्यक्ष मानसिंह घर्ति लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

खेलको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले शिक्षक र पत्रकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र आपसी सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले शिक्षा र सञ्चार क्षेत्रबीच सकारात्मक संवाद र सहकार्यको सन्देश दिएको उहाँको भनाइ थियो।

प्याब्सन दाङको पैंतीसौँ स्थापना दिवसको अवसरमा भोलि अन्तिम दिन जिल्लाको शैक्षिक अवस्थाबारे बहस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित औपचारिक रूपमा समापन गरिने आयोजकले जानकारी दिएको छ।

Facebook Comments