• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पवित्रादेवी स्मृति टी–२० को फाइनलमा पुरन्धारा र घोराही




घोराही । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत फाइनल खेल्ने दुई टिमको टुंगो लागेको छ। आइतबार सम्पन्न दुई सेमिफाइनल खेलबाट पुरन्धारा च्यालेन्जर्स र घोराही क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरेका हुन्।

 

घोराही क्रिकेट रंगशाला, गुलरियामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारियर्सबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पुरन्धारा च्यालेन्जर्सले फिल्डिङ गर्ने निर्णय गरेपछि देउखुरी वारियर्स सुरुवाती ब्याटिङमा उत्रिएको थियो। देउखुरी वारियर्सले कमजोर ब्याटिङ प्रदर्शन गर्दै १५.२ ओभरमै सबै विकेट गुमाउँदै मात्र ८० रन बनाउन सक्यो। देउखुरीका लागि अमर मिश्रले सर्वाधिक २८ रन जोडे। पुरन्धाराका बलर मोहन खत्रीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पार्दै विपक्षीलाई सस्तैमा समेट्न महत्वपूर्ण भूमिका खेले।

८१ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको पुरन्धारा च्यालेन्जर्सले दिल्साद अलिको उत्कृष्ट अर्धशतकीय इनिङ्सको सहायतामा लक्ष्य सजिलै भेट्टायो। दिल्साद अलिले ५३ रनको शानदार इनिङ्स खेलेपछि पुरन्धाराले १४.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। देउखुरीका बलर अमर मिश्रले २ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन्। उत्कृष्ट प्रदर्शनका लागि दिल्साद अलि म्यान अफ द म्याच घोषित भए।

 

त्यसैगरी दोस्रो सेमिफाइनल खेल श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब र घोराही क्रिकेट एकेडेमीबीच सम्पन्न भयो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको घोराही क्रिकेट एकेडेमीले सन्तुलित ब्याटिङ प्रदर्शन गर्दै १९.३ ओभरमा अलआउट हुँदै १४५ रन बनायो। घोराहीका लागि हेमराज सापकोटाले ३३ रन तथा क्षितिज थापा मगरले २३ रन जोड्दै टिमलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए। त्रिशिद्धेश्वरीका बलर सुरज धिताल, अशोक धामी र सुदिप नेपालीले समान २–२ विकेट लिएर घोराहीलाई रोक्ने प्रयास गरे।

 

१४६ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबले संघर्षपूर्ण सुरुवात गरे पनि १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमै सीमित हुन पुग्यो। त्रिशिद्धेश्वरीका लागि विजय डाँगीले ३९ रन र सुमन वलीले २६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। घोराहीका बलर सुमन केसीले ४ विकेट तथा महेश भारले ३ विकेट लिँदै टिमलाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। उत्कृष्ट बलिङ प्रदर्शनका कारण सुमन केसी म्यान अफ द म्याच घोषित भए।

 

अब प्रतियोगिताको बहुप्रतिक्षित फाइनल खेल सोमबार बिहान ११ः३० बजे पुरन्धारा च्यालेन्जर्स र घोराही क्रिकेट एकेडेमीबीच घोराही क्रिकेट रंगशालामै हुने आयोजकले जनाएको छ।

 

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ तथा उपविजेता टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने दाङ युथ क्लबका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिनुभयो।

Facebook Comments