श्रवण कुमार यादव
देउखुरी। पछिल्लो समय लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पानीका स्रोतहरूको संरक्षणमा विशेष चासो देखाएको छ । लमही नगरपालिका क्षेत्रमा जनसंख्या बढ्दै जाँदा खानेपानीको माग समेत तीव्र रूपमा बढिरहेको छ।
यसअघि लमहीमा राप्ती नदी, अर्जुन खोला, पोखरी र राजकुलो पानीका प्रमुख स्रोत थिए । तर बढ्दो जनसंख्या र शहरीकरणसँगै पछिल्ला वर्षहरूमा जमिनमुनिको पानीको अत्यधिक प्रयोग हुन थालेको छ । मुहानको संरक्षण नगरी केवल पानी निकाल्ने काम मात्र जारी रहे लमहीमा भविष्यमा खानेपानीको गम्भीर संकट आउन सक्ने सरोकारवालाहरू बताउँछन् ।
यी अवस्थालाई मध्यनजर गर्दै लमही नगरक्षेत्रका उपभोक्तालाई दीर्घकालीन रूपमा खानेपानीको पहुँचमा ल्याउन नयाँ खानेपानी आयोजना सञ्चालन गरिएको छ । खानेपानी समस्याको समाधानका लागि साना तथा ठूला आयोजनाहरू निरन्तर अगाडि बढाइएका छन् । तीव्र शहरीकरण भइरहेको लमही क्षेत्रमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सह–लगानीमा ३५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको लागतमा ठुलो खानेपानी आयोजना विस्तार भइरहेको छ ।
आयोजनाअन्तर्गत हाल ओभरहेड ट्यांकी निर्माणको काम अघि बढेको छ । यसअघि लागू गरिएको दोस्रो साना शहरी खानेपानी आयोजनाअन्तर्गत २ हजार ६ सय धाराको क्षमता भए पनि माग बढ्दै जाँदा हाल करिब ६ हजार धारा वितरण गरिएको छ । क्षमताभन्दा बढी पानी वितरण हुँदा समस्या बढेपछि नयाँ आयोजना आवश्यक परेको संस्थाले जनाएको छ।
हिउँदमा चर्को खानेपानी अभाव झेल्दै आएको देउखुरी क्षेत्र बर्खायाममा भने डुबानको जोखिममा पर्ने गरेको छ । शहरी योजनाकारहरूका अनुसार पानी पुनःभरण प्रणाली कमजोर बन्दै जानु नै पानी अभाव र डुबान दुवै समस्याको प्रमुख कारण हो । जमिनमुनि पानी जान नसक्ने अवस्था सिर्जना हुँदा समस्या झनै जटिल बन्दै गएको उनीहरूको भनाइ छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनम कुमार पौडेलले पानीका मुहानहरूको दीगो संरक्षणका लागि गुरुयोजना निर्माण गरी अघि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाह्य स्रोतबाट ल्याइने पानीको सही उपयोग, विद्यमान मुहानको संरक्षण तथा नयाँ मुहानको खोजी र उपयोगमा विशेष ध्यान दिइएको छ ।
अध्यक्ष पौडेलले संस्थाले हालसम्म गरेका गतिविधि र आगामी लक्ष्यबारे जानकारी गराउँदै विधान संशोधन, कर्मचारी नियमावली तथा दरबन्दी निर्धारण, खरिद–बिक्री तथा आर्थिक नियमावली, सामाजिक सुरक्षा कोष, महशुल दर परिमार्जन, धारा जडान शुल्क, अध्ययन तथा अवलोकन भ्रमण, सरसफाइसम्बन्धी कार्यक्रमलगायतका योजनाहरू प्रस्तुत गर्नुभयो । उहाँले उपभोक्तालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउन कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २१औँ वार्षिक साधारण सभा शनिबार लमहीमा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन गर्दै लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले खानेपानी संविधानले साझा अधिकारका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै स्रोत भएका स्थानीय तहले त्यसको संरक्षणमा सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले खानेपानी आयोजना लमहीमा ल्याई व्यवस्थित वितरण र स्रोत संरक्षणमा संस्थाले गरेको पहलप्रति खुसी व्यक्त गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारीले आर्थिक वर्ष ०८१/०८२ को ७ करोड ४४ लाख ६५ हजार ८ सय २८ रुपैयाँ ८५ पैसाको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षमा हालसम्म आयतर्फ ३ करोड ९९ लाख ७८ हजार ७ सय ९१ रुपैयाँ र व्ययतर्फ २ करोड ७५ लाख ६१ हजार ४६ रुपैयाँ खर्च भएको जानकारी गराइएको थियो।
वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव बसन्त आचार्यले प्रस्तुत गर्नुभएको थियो । उहाँले नयाँ आयोजनाबाट आउने पानीलाई व्यवस्थित रूपमा वितरण गर्न उप–समिति गठन गरी आवश्यक पानीको मात्रा र वितरण प्रणालीबारे अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रम लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनम कुमार पौडेलको अध्यक्षता तथा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी, नेकपा एमाले लमही नगर कमिटी अध्यक्ष रतन कुमार केसी, नेकपा तर्फबाट डिलकुमार श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष जंगबहादुर चौधरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम उपाध्यक्ष शिवाकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भई सचिव बसन्त आचार्यले सहजीकरण गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
