घोराही । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा आइतबारदेखि सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत शुक्रबार दुई खेल सम्पन्न भएका छन्।
घोराही क्रिकेट रंगशाला, गुलरियामा सम्पन्न पहिलो खेलमा घोराही टाइगर्स र दोस्रो खेलमा भ्यालिजुनियर क्रिकेट क्लब विजयी भएका छन्।
शुक्रबारको पहिलो खेलमा एजाइन क्रिकेट क्लब र घोराही टाइगर्सबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको घोराही टाइगर्सले १६.२ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनायो। घोराहीका लागि रविन थापाले ४८ रनको योगदान दिए भने एजाइनका बलर प्रतिक पन्थीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए।
१५६ रनको लक्ष्य पछ्याएको एजाइन क्रिकेट क्लबले १७ ओभरमा ८ विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो। एजाइनका लागि विक्रम रोकाले २९ रन जोडे। घोराहीका बलर तुल बहादुर थापाले २ विकेट लिए।
दोस्रो खेलमा श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब र भ्यालिजुनियर क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो। पहिले ब्याटिङ गरेको भ्यालिजुनियरले निर्धारित ओभरमा १७७ रन बनायो। भ्यालिजुनियरका लागि सलाउदीन खानले ४४ रन र निर्मल गुरुङले ३० रन बनाए। त्रिशिद्धेश्वरीका बलर धिरज केसीले २ विकेट लिए।
१७८ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब १२.३ ओभरमै अलआउट हुँदै मात्र ४८ रनमा समेटियो। टोलीका ब्याटरहरूको प्रदर्शन निराशाजनक रह्यो। शंकर परियारले सर्वाधिक ८ रन बनाएका थिए। भ्यालिजुनियरका बलर निर्मल गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ तथा उपविजेता टिमले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

