दाङ । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा आइतबारदेखि सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत तेस्रो दिन मंगलबार दुई खेल सम्पन्न भएका छन्।
घोराही क्रिकेट रंगशाला, गुलरियामा सम्पन्न तेस्रो दिनको पहिलो खेलमा देउखुरी वारियर्स र दोस्रो खेलमा पुरन्धारा च्यालेन्जर्स विजयी भएका हुन्।
तेस्रो दिन बिहान भएको पहिलो खेलमा घोराही टाइगर्स र देउखुरी वारियर्सबीच प्रतिस्पर्धा भएको थियो। टस हारेर ब्याटिङ गरेको देउखुरी वारियर्सले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनायो। देउखुरीका लागि समीर अली मुस्लिमले अर्धशतकसहित ५३ रन बनाए भने अमर मिश्रले २६ रनको योगदान दिए।
घोराही टाइगर्सका बलर दिनेश बोहरा र तुलबहादुर थापाले समान २–२ विकेट लिए।
१४१ रनको लक्ष्य पछ्याएको घोराही टाइगर्स १९.२ ओभरमै अलआउट हुँदै १२९ रनमै सीमित भयो। घोराहीका लागि आकाश पाण्डेले ३६ रन र तुलबहादुर थापाले २३ रन बनाए। देउखुरीका बलर सुभम खनालले ४ विकेट लिँदा आरिफ खानले ३ विकेट हात पारे।
दोस्रो खेलमा भ्याली जुनियर क्रिकेट क्लबले टस जितेर पहिला ब्याटिङ गर्दै १९.१ ओभरमा १० विकेट गुमाउँदै जम्मा ६५ रन मात्र बनाउन सक्यो। टोलीका लागि निर्मल गुरुङले १८ रन र केशव केशब अधिकारीले ११ रन बनाए।
पुरन्धारा च्यालेन्जर्सका बलर पूर्णबहादुर बिकले ३ विकेट लिँदा दिवान पुन र सुजल वलीले समान २–२ विकेट लिए।
६६ रनको सामान्य लक्ष्य पछ्याएको पुरन्धारा च्यालेन्जर्सले १४.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टोलीका लागि प्रिन्स थापाले उत्कृष्ट ३० रन बनाए। भ्याली जुनियरका बलर निर्मल गुरुङले ३ विकेट लिए।
प्रतियोगिताअन्तर्गत बुधबार चौथो दिन एजाइन क्रिकेट क्लब र देउखुरी वारियर्स, साथै घोराही क्रिकेट एकेडेमी र तुलसीपुर स्पोर्ट्स एकेडेमीबीच खेल हुने प्रतियोगिता आयोजक क्लबका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

