दाङ । दाङ युथ क्लबको आयोजनामा तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा आइतबारदेखि सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत पहिलो खेलमा पुरन्धारा च्यालेन्जर्सले विजयी सुरुवात गरेको छ।
घोराही क्रिकेट रंगशाला, गुलरिया दाङमा सम्पन्न उद्घाटन खेलमा पुरन्धारा च्यालेन्जर्सले तुलसीपुर स्पोर्ट्स एकेडेमीलाई ४४ रनले पराजित गरेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको पुरन्धारा च्यालेन्जर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनायो। पुरन्धाराका लागि दर्श सोनारले सर्वाधिक ४४ रनको योगदान दिए भने मनोज केसीले ३३ रन र मोहन खत्रीले १७ रन बनाए। अतिरिक्तबाट टोलीले १८ रन प्राप्त गरेको थियो।
तुलसीपुर स्पोर्ट्स एकेडेमीका बलरमध्ये उमेश गिरीले २ विकेट लिन सफल भएका थिए।
१४४ रनको लक्ष्य पछ्याएको तुलसीपुर स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९९ रनमै सीमित हुन पुग्यो। तुलसीपुरका लागि मोहन केसीले ४२ रनको संघर्षपूर्ण पारी खेले भने सचिन बीकले अविजित २९ रन जोडे।
पुरन्धारा च्यालेन्जर्सका बलर पुरन बहादुर बीकले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। उनको प्रभावशाली प्रदर्शनका कारण उनलाई खेलको म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै शुशान्त नेपालीले २ विकेट हात पारे।
प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो दिन बिहान द एजाइन क्रिकेट क्लब र श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबबीच तथा दिउँसो घोराही क्रिकेट एकेडेमी र भ्याली जुनियर क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने क्लबका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
