प्युठान। नेपाली कम्युनिस्ट पार्टी प्युठानले ऐरावती गाउँपालिका वडा नम्बर चार, तिल्केनी निवासी छब्बीस वर्षीय प्रेमबहादुर विश्वकर्मालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टी प्युठानको बैठकले विश्वकर्मालाई प्रतिनिधि सभाका लागि सिफारिस गरेको हो। जिल्ला संयोजक प्रभात केसीका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सक्षम, संघर्षशील र युवामुखी नेतृत्वलाई अघि सारिएको हो।

वि.सं. २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि देशको राजनीतिमा नयाँ मोड आएको थियो। आन्दोलनपश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै प्रतिनिधि सभाको विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गर्नुभएको थियो। निर्वाचन घोषणासँगै राजनीतिक दलहरू उम्मेदवार छनोटको प्रक्रियामा जुटेका छन्।
प्रेमबहादुर विश्वकर्माका बुवा ओमबहादुर विश्वकर्मा वि.सं. २०५५/५६ सालदेखि जनयुद्धमा होमिनुभएको थियो। उहाँ निरन्तर पूर्णकालीन कार्यकर्ताका रूपमा सक्रिय रहनुभयो। जनयुद्धपछि गणतन्त्र स्थापना भए पनि उहाँको जीवनस्तरमा परिवर्तन आएन। जनयुद्धपश्चात पनि उहाँ पुनः ज्यालामजदुरीकै पेशामा फर्किनुभयो।
श्रीमती र पाँच सन्तानसहित सात जनाको परिवार पाल्न संघर्ष गरिरहेका ओमबहादुर विश्वकर्माको वि.सं. २०६८ पुस अठ्ठाइस गते कामको सिलसिलामा छिमेकी गाउँ जाने क्रममा दुर्घटनामा परी निधन भयो।
बुवाको निधनपछि परिवार झनै कठिन परिस्थितिमा फस्यो। रासन र अन्नको अभावमा परिवारले कयौँ रात भोकै बिताउनुपरेको अवस्था आयो। पारिवारिक अवस्था अत्यन्त कमजोर भएपछि प्रेमबहादुर बाह्र वर्षकै उमेरमा रोजगारीका लागि भारत जान बाध्य भए।
झन्डै एक वर्ष भारत बसेपछि आमाले वैदेशिक रोजगारीका लागि कुवेत जाने निर्णय गर्नुभयो। आमा उमा विश्वकर्मा विदेशिएपछि प्रेम नेपाल फर्किएर पुनः पढाइ सुरु गर्नुभयो। निरन्तर मेहनतका कारण उहाँ प्रथम श्रेणीमा उत्तीर्ण हुँदै जानुभयो।
हाल उहाँ स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्नातक तहमा क्याम्पस टप गर्दै छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ।
विश्वकर्मा शिक्षा, राजनीति र समाजसेवालाई समानान्तर रूपमा अघि बढाइरहनुभएको छ। उहाँ वि.सं. २०७३ चैत अठार गतेदेखि जिल्ला बालसञ्जाल प्युठानको अध्यक्ष भई कार्यरत रहनुभयो। सो अवधिमा जिल्लामा बालविवाह अन्त्य, बालश्रम नियन्त्रण र बालअधिकार संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभयो।

त्यसपछि उहाँ एक वर्षभन्दा बढी समय अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्षका रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभयो। हाल उहाँ अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य पदमा कार्यरत हुनुहुन्छ

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
