खेती रोपेर सपनीमा
फल कहाँ लाग्ला र विपनीमा
तारा देखाएर छितिज पारीको
बाटो कहाँ देखिएला र अँध्यरीमा।
सपनामा उम्रिएको अन्नले
कसको भोक मेटियो इतिहासमा
निद्रामा सेकाएको रोटीले
कस्को पेट भरियो र जिन्दगीमा ।
दरबारका सपनाले
झुपडीको चुलो कहिलै बलेनन्
सिंहासनका उज्यालाले
गल्लीका अँध्यारा कहिलै भेटेनन् ।
भोकले सोधिरहन्छ
कुन दर्शनले
मेरो पेट भरिदिन्छ ?
कुन कविताले
मेरो चुलो बालिदिन्छ ?
कुन सिद्धान्तले
मेरा वालबच्चा पालीदिन्छ ?
सपनाको आशा बेचेर युगौँ बिते
धनि भए विपनीमा मालिकहरू
श्रमको मूल्य अझै माटोमै थिचिएको छ
भोकै भए श्रमिकहरू ।
खेती गर्नै छ भने विपनीमै खन
हात छालाले चिरिँदासम्म जोत
पसिनाले माटो भिज्दासम्म रोप
घामसँग जुध्दै मोती टिप
पसिनाको सिचाइ विना
पसिनाको गन्ध विना
हास्ने छैन धर्ती यहाँ
त्यसैले विपनीमै बाच्न सिक ।
तारा हेरेर होइन माटो चिर्दै अघि बढ,
किनकि अगाडिको बाटो
हाम्रो श्रमले मात्रै उज्यालिन्छ
त्यहीँ सपनाले
यथार्थको रूप लिन्छ,
र
खेती
क्रान्ति बन्छ
मात्र विपनीमा।
✍️जनक वि.क.
दाङ.

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
