• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जीवनका चुनौतीसँग जुध्ने मानसिक उपचार सकारात्मक सोच




घोराही। कर्ण सकारात्मक कोषअन्तर्गतको सकारात्मक सोच समूह दाङले घोराहीमा ‘खुसी जीवनको आधार, सकारात्मक सोच र विचार’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

समूहका संयोजक सुन्दर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव तथा विषय विज्ञ रमेशकुमार अधिकारी प्रमुख वक्ताका रूपमा सहभागी हुनु भएको थियो।

अधिकारीले सकारात्मक सोच व्यक्ति, परिवार र समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै सकारात्मक सोचले कठिन परिस्थितिमा पनि आशा जगाउने, सही निर्णय लिन सहयोग गर्ने र मानसिक सन्तुलन कायम राख्ने बताउनुभयो। उहाँले सकारात्मक सोच यथार्थबाट भाग्ने माध्यम नभई जीवनका चुनौतीसँग जुध्ने मानसिक शक्ति भएको धारणा राख्नुभयो।

कार्यक्रममा टिप्पणी गर्दै महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक निर्मल गौतमले सकारात्मक सोचको अवधारणालाई सामाजिक र वर्गीय सन्दर्भमा बुझ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले सम्पन्न वर्गका लागि सकारात्मक सोच सहज देखिए पनि अभाव, अन्याय र असमानता खेपिरहेको वर्गले उठाउने प्रश्नलाई नकारात्मक सोच भनेर खारेज गर्न नमिल्ने बताउनुभयो। गरिबी, विभेद र अवसरको असमानताविरुद्ध उठ्ने आवाज सामाजिक परिवर्तनको आधार भएको उहाँको भनाइ थियो।

कार्यक्रम समूहका संस्थापक संयोजक वसन्त पुन मगरले सञ्चालन गर्नु भएको थियो।

सोही क्रममा समाजसेवी बिमला योगीले एक अभिभावकविहीन विद्यार्थीलाई कक्षा बाह्रसम्म निःशुल्क पढाउने जिम्मेवारी लिने घोषणा गर्नुभयो। उक्त घोषणालाई सहभागीहरूले प्रेरणादायी सामाजिक उदाहरणका रूपमा स्वागत गरेका थिए।

कार्यक्रममा शिक्षाविद्, समाजसेवी, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता अन्तर्क्रिया कार्यक्रमले आत्मचिन्तन बढाउनुका साथै समाजमा सकारात्मक सोचसँगै न्याय र समानताको बहस अघि बढाउन सहयोग पुग्ने बताएका छन्। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

Facebook Comments