घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका रजिस्ट्रार श्याम लम्सालले प्रतिष्ठानलाई अघि बढाउनका लागि सबै सहयोग आवश्यक पर्ने बताउनुभएको छ । उहाँले अस्पतालमात्र चलेर संस्थाको उद्देश्य पूरा नहुने बताउनुभयो । उहाँले अस्पतालमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धानका क्षेत्रहरु सँगसँगै अगाडि बढाउन सकेमात्र संस्थाको उद्देश्य पूरा हुने कुरामा उहाँले जोड दिनुभएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको समन्वयमा भएको जनस्वास्थ्य सचेतना तथा सिकलसेल एनिमिया न्यूनीकरणमा पत्रकारको भूमिका विषयक कार्यशालामा बोल्दै रजिस्ट्रार लम्सालले प्रतिष्ठानको वर्तमान अवस्था र चुनौतीका विषयमा जानकारी दिनुभएको थियो । उहाँले अस्पतालमात्रै भएर त्यो संस्थाको उद्देश्य पूरा नहुने भएको हुँदा प्रतिष्ठानले बिगत डेढ वर्षदेखि स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आइरहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको अहिलेको संरचनामा व्यवस्थापन गरेर तीनसय २६ शैयाको अस्पतालबाट विशेषज्ञ सेवा र विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको समेत बताउनुभयो । प्रतिष्ठानले पछिल्लो समय विशिष्टिकृत सेवाहरुलाई विस्तार गर्दै गइरहेको र मुटुका रोगीहरुलाई मध्यनजर गर्दै आगामी माघ एक गतेदेखि प्रतिष्ठानमा मुटु रोगको उपचार सेवा सुरु गरिने उहाँको जोड रहेको थियो ।
यो संस्था दाङका लागि मात्र नभएर यसको वरिपरि पनि विस्तार हुनुपर्छ, भन्ने सन्दर्भमा रुन्टीगढीको होलेरी स्वास्थ्य केन्द्र र त्रिवेणी गाउँपालिकाको त्रिवेणीको स्वास्थ्य केन्द्रमा प्रतिष्ठानबाटै मेडिकल अफिसर पठाएर स्वास्थ्य सेवालाई विस्तार गरेको लम्सालको भनाइ थियो । साथै, प्रतिष्ठानको सेवालाई क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्ने क्रममा रहेको र यो प्रतिष्ठान नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रमहरु सबैभन्दा कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानको रुपमा रहेको समेत उहाँले बताउनुभयो । अस्पतालहरुमा सानातिना गुनासहरु आउने भएतापनि प्रतिष्ठानप्रतिको बिरामीको भरोसा बढ्दै गएको र प्रतिष्ठानले पनि स्तरीय स्वाथ्य सेवाहरु दिने प्रयास गरिरहेको उहाँले बताउनुभएको थियो ।
महासंघका पूर्व अध्यक्ष डाक्टर सुदीप गौतमले स्वास्थ्य पत्रकारिताको अवधारणा र विषयको बारेमा जानकारी दिँदै हामीले गरिररहेको पत्रकारितालाई फरक ढंगले अगाडी बढाउनुपर्र्ने बताउनुभयो । उहाँले बिगतदेखि पत्रकारहरुले जिल्लामा खासगरी खबरदारी, मानिसको स्वास्थ्यसम्बन्धी र सामाजिक क्षेत्रका विषयमा कलम चलाउदै आएको समेत बताउनुभयो । सञ्चार माध्यममा पछिल्लो समयमा स्वास्थ्यका समाचार भन्दा पनि राजनीतिक समाचारलाई बढी प्राथमिकतामा परेको भएतापनि स्वास्थ्य क्षेत्रका विषयमा पनि बिस्तारै अगाडि बढ्दै गएको उहाँको जोड थियो । अहिले आम नेपाली स्वास्थ्य समाचार पढ्ने र त्यस विषयमा रुचि राख्ने नागरिकको आकर्षण बढ्दै गएको हुँदा पत्रकारहरुका लागि स्वास्थ्य पत्रकारिताको पनि सम्भावना बढ्दै गएको उहाँको भनाइ थियो । चिकित्सा क्षेत्रको भाषा र शब्दावली कठिन र जटिल खालका हुने हुँदा स्वास्थ्य पत्रकारितामा चुनौती थपिएको समेत उहाँले बताउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष सन्तोष सुवेदीले पत्रकारिता क्षेत्रमा स्वास्थ्यका विषयहरु कम प्राथमिकतामा परेको बताउनुभयो । उहाँले जिल्लामा पत्रकारिता गरिरहेका पत्रकारहरुको स्वास्थ्यसम्बन्धीका ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यकासाथ स्वास्थ्यसम्बन्धी तालिमको आयोजना गरिएको समेत बताउनुभयो । यो स्वास्थ्यसम्बन्धी तालिमले स्वास्थ्य क्षेत्रमा पत्रकारिता गर्ने इच्छुक पत्रकारहरुका लागि महत्वपूर्ण भूमिका खेल्ने पनि उहाँको भनाइ थियो ।
प्रतिष्ठानका सह–प्राध्यापक डाक्टर सुरेश रसाइलीले चिकित्सा पेशा मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहेको हुँदा यस क्षेत्रमा सानो गल्तीले पनि ठूलो क्षति हुनसक्ने बताउनुभयो ।
प्रतिष्ठानका अजय राज गौतमले सिकलसेल रोगको बारेमा जानकारी अहिले अस्पतालमा तीन १५ जना सिकलसेलका बिरामीले उपचार गरिरहेको बताउनुभयो । उहाँले मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसिया जस्तै आकारमा रुपान्तरण हुने रक्त अल्पतासम्बन्धी रोगलाई सिकलसेल एनिमिया भन्ने गरिएको समेत बताउनुभयो । यो रोग बंशाणुगत रोग भएको र नेपालमा खासगरी पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका तराई जिल्लाका थारु समुदायमा बढी देखिने गरेको उहाँको भनाइ थियो । यो रोगको न्यूनीकरणका लागि सिकलसेलको लक्षण नदेखिएका व्यक्तिमा पनि सिकलसेलको जीन भेटिने र त्यस्ता व्यक्तिबाट आफ्ना सन्तानमा रोग स्थानान्तरण गर्ने क्षमता हुने हुँदा सम्भावित समुदायका सबै व्यक्तिले रगत परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।
महासंघका उपाध्यक्ष उपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव जेएन सागरले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
