मधुसूदन गिरी
कमिरेचौर। दाङको बंगलाचुली गाउँपालिकामा सिमेन्ट उद्योगका कारण प्रभावित स्थानीय र उद्योगीबीच उत्पन्न विवाद अन्ततः समाधान भएको छ। आज साँझ सम्पन्न छलफलपछि प्रभावित क्षेत्रका स्थानीय, सिमेन्ट उद्योगी र स्थानीय सरकारबीच उन्नाइस बुँदे सहमति भएपछि आन्दोलन टुंगिएको हो।
छलफलमा बंगलाचुली गाउँपालिका, घोराही सिमेन्ट र सम्राट सिमेन्टबीच यसअघि भएको सहमतिलाई कार्यान्वयन गर्ने निर्णय भएको छ। सहमतिअनुसार घोराही उपमहानगरपालिका–बंगलाचुली सिमानादेखि पूर्वतर्फ एक किलोमिटर सडक घोराही सिमेन्ट र सम्राट सिमेन्टले संयुक्त रूपमा आगामी फागुन मसान्तसम्म कालोपत्रे गर्नेछन्। बाँकी एक किलोमिटर सडक भने बंगलाचुली गाउँपालिकाको पहलमा विभिन्न संघसंस्थासँग समन्वय गरी कात्तिक मसान्तसम्म कालोपत्रे गरिनेछ।

यस्तै, बंगलाचुलीको तापाचोकदेखि तापा सम्मको सडक मर्मत र फुटपाथ नपुग बस्ती–म्यालडाँडा सम्मको सडक तत्काल मर्मत गर्ने सहमति भएको छ। संवेदनशील क्षेत्रमा सुरक्षा पिलर निर्माणको काम पौष बाह्र गतेदेखि सुरु गर्ने, खानी प्रभावित क्षेत्रका पानीका मुहान र ढल निकासको काम स्थानीयवासीसँग समन्वय गरी सोही मितिबाट सुरु गर्ने निर्णय भएको छ।
खानी प्रभावित क्षेत्रको जमिन खरिद गर्ने विषयमा पनि सहमति भएको छ। दाङवाङ खोलाको किनारका खेत एक सय चौबीस रोपनी जमिन दुवै उद्योगले संयुक्त रूपमा खरिद गर्ने, एक महिनाभित्र बैना गर्ने तथा खमारी क्षेत्रमा सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको छ।
टाइमकार्ड, ओभरलोड र गति नियन्त्रणका काम तत्काल सुरु गर्ने, ट्राफिक नियम पालना गराउन इलाका प्रहरी कार्यालय कमिरेचौर र गाउँपालिकाका नगर प्रहरीको सहयोग लिने सहमति भएको छ।
सम्पर्क व्यक्तिका रूपमा टिप्पर व्यवसायी समितिको तर्फबाट टिंकु बराललाई तोकिएको छ। घोराही–तापाचोक सडक आवश्यकता अनुसार पौष छ गतेदेखि मर्मत गर्ने, टिप्परले छर्री ढुवानी गर्दा उद्योगले राजस्व जम्मा गर्ने, प्रति टिप्पर संकलित राजस्वको फाँटवारीसहित नवीकरण शुल्क उद्योगले समयमै बुझाउने निर्णय गरिएको छ। टिप्पर दुर्घटनामा परी बंगलाचुली वडा नम्बर चारकी सुस्मा रोकालाई साठी हजार रुपैयाँ तत्काल उपलब्ध गराउने सहमति पनि भएको छ।

यसैगरी, तापा पोखरडाँडादेखि अरङखोलासम्म मोटर बाटो निर्माण यसै आर्थिक वर्षमा सामुदायिक वन र गाउँपालिकासँग समन्वय गरी गर्ने, क्रसर क्षेत्रमा टिप्पर पार्किङको व्यवस्था क्रसरभन्दा माथि मिलाउने निर्णय भएको छ। माइनिङ समय बिहान छ बजेदेखि साँझ छ बजेसम्म तोकिएको छ। तापाचोक–कालोढुंगा कालोपत्रे सडक मर्मत डिभिजन सडक कार्यालय दाङ र अग्नि सिमेन्टको उपस्थितिमा गर्ने सहमति भएको छ।
भुटनेटा देखि घोराहीसम्म प्रभावित क्षेत्रमा पानी छर्कने व्यवस्था मिलाई धुलो नियन्त्रण गर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने, जम्लेपानीदेखि तापा सम्मको कालोपत्रे सडक वर्षमा दुईपटक असोज र वैशाखमा मर्मत गर्ने निर्णय गरिएको छ। उद्योगी, व्यवसायी, सरोकारवाला समुदाय र स्थानीय सरकारबीच हरेक महिनाको मसान्तमा गाउँपालिकामा समन्वय बैठक बसेर समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ।
टिप्पर सञ्चालन बिहान पाँच बजेदेखि साँझ आठ बजेसम्म गर्ने, हालसम्म अवरुद्ध उद्योगका सवारीसाधन पूर्ववत् रूपमा सञ्चाल
न गर्ने तथा तोकिएको समयमा सहमतिका विषय कार्यान्वयन नभए पालिकाको समन्वयमा उद्योगलाई दबाब दिने निर्णयसमेत भएको छ।
गत मंसिर सोह्र गतेदेखि बंगलाचुली गाउँपालिका वडा नम्बर तीन र चारका स्थानीयले सिमेन्ट उद्योग र टिप्पर सञ्चालनमा रोक लगाएका थिए। मंसिर बाइस, पच्चिस र आज बिहानसम्म भएका छलफलमा सहमति हुन नसकेकोमा आज साँझको छलफलबाट सहमति जुटेको स्थानीय अगुवा छविलाल डाँगीले जानकारी दिनुभयो।
छलफल कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन, उपाध्यक्ष भक्तबहादुर जिसी, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष शोभाराज विश्वकर्मा, घोराही सिमेन्टको तर्फबाट अम्मर सुवेदी, सम्राट सिमेन्टको तर्फबाट बलदेव मल्ल तथा प्रभावित क्षेत्र वडा नम्बर ३, ४ र ६ का स्थानीयको सहभागिता रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
