• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्याब्सन रनिङ शिल्डको विजेता गोरखा मावि, एकै विद्यार्थीले जिते पाँच स्वर्ण




दाङ। चौथो संस्करणको प्याब्सन घोराही रनिङ शिल्ड–२०८२ मा गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल, घोराही समग्र विजेता बनेको छ। गोरखाले बाह्र स्वर्ण, नौ रजत र एक कास्य गरी कुल चौबीस पदक जित्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल आठ पदकसहित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल उपविजेता बनेको छ। त्यस्तै, तीन स्वर्ण, तीन रजत र चार कास्य गरी दस पदकसहित ज्ञानज्योती प्रोग्रेसिभ स्कुल, नारायणपुर सेकेन्ड रनरअप बनेको छ भने सनराइज एकेडेमी, हापुरले तीन स्वर्ण, दुई रजत र एक कास्य गरी छ पदकसहित थर्ड रनरअपको उपाधि जितेको छ।

तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच पदकसहित ज्ञानज्योती एजुकेसनल एकेडेमी पाँचौं, दुई स्वर्ण, तीन रजत र छ कास्य गरी एघार पदकसहित मदन भण्डारी मेमोरियल स्कुल छैठौं तथा दुई स्वर्ण, दुई रजत र एक कास्य गरी पाँच पदकसहित जनज्योति विद्यामन्दिर सातौं स्थानमा रह्यो।

ग्यालेक्सी एकेडेमी र ज्ञानसिन्धु सेकेन्डरी स्कुलले दुई–दुई स्वर्ण पदकसहित संयुक्त रूपमा आठौं स्थान हासिल गरे। एक स्वर्ण, दुई रजत र एक कास्य गरी चार पदकसहित प्रज्ञान एकेडेमी नवौं तथा एक स्वर्ण र एक रजतसहित हिन्दु विद्यापिठ दशौं स्थानमा रह्यो।

पाँच दिनसम्म चलेको रनिङ शिल्डमा ज्योति पुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलले एक स्वर्ण र दुई कास्य, लिटिल भ्याली बालबाटिकाले एक स्वर्ण र एक कास्य तथा ग्लोबल एकेडेमीले एक स्वर्ण पदक जितेको छ।

त्यस्तै, दीपशिखा सेकेन्डरी स्कुलले पाँच रजत र दुई कास्य, ज्ञानमाला एकेडेमीले दुई रजत र एक कास्य, लिटिल एन्जल स्कुल, रमना पाठशाला र शान्ति निकेतन विद्यालयले एक–एक रजत र दुई–दुई कास्य पदक हात पारेका छन्।

बालकुञ्ज इङ्लिस मिडियम स्कुलले एक रजत र एक कास्य प्राप्त गर्दा अल्फा इङ्लिस बोर्डिङ स्कुल, गोदावरी इङ्लिस मिडियम स्कुल, नवचेतना शैक्षिक बोर्डिङ स्कुल, स्टार इङ्लिस बोर्डिङ स्कुल र स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुलले एक–एक रजत पदक जितेका छन्। पर्ल एकेडेमी र सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले दुई–दुई कास्य पदक हात पारेका छन् भने डिभाइन एकेडेमी, मनकामना इङ्लिस सेकेन्डरी स्कुल, राजविद्या पाठशाला, राप्ती सेकेन्डरी बोर्डिङ स्कुल र भ्यालीटप इङ्लिस बोर्डिङ स्कुलले एक–एक कास्य पदक प्राप्त गरेका छन्।

उत्कृष्ट खेलाडीको उपाधि

चौथो प्याब्सन घोराही रनिङ शिल्डअन्तर्गत विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूलाई उपाधि प्रदान गरिएको छ। कबड्डीतर्फ सनराइज एकेडेमीकी वर्षा पुन उत्कृष्ट खेलाडी घोषित भइन् भने भलिबलतर्फ ज्ञानसिन्धु सेकेन्डरी स्कुलका मनोज खड्काले उत्कृष्ट खेलाडीको उपाधि हात पारे।

एथलेटिक्सतर्फ छात्रमा गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका विपिन लम्साल र छात्रातर्फ सोही विद्यालयकी चिनोची घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भए। विपिन लम्सालले एक सय मिटर, दुई सय मिटर, लङ जम्प, एक सय मिटर रिले र चार सय मिटर रिले गरी पाँच स्वर्ण पदक जित्दै प्रतियोगितामा विशेष छाप छोड्नुभएको थियो।

खेलकुद संयोजक मानसिंह घर्तीका अनुसार प्रतियोगितामा अठतीस खेल समावेश गरिएका थिए भने अन्ठाउन्न विद्यालयका करिब पाँच हजार खेलाडीले सहभागिता जनाएका थिए।

प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा शीर्ष दश स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। अन्य पदक विजेता विद्यालयलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियो।

गोरखाका लम्सालको नयाँ रेकर्ड

चौथो प्याब्सन घोराही रनिङ शिल्ड–२०८२ का विजेता गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल, घोराहीका खेलाडी विपिन लम्साल पाँच स्वर्ण पदक (एक सय मिटर, दुई सय मिटर, लङ जम्प, एक सय मिटर रिले र चार सय मिटर रिले) जित्दै उत्कृष्ट छात्र खेलाडी घोषित हुनुभएको छ।

त्यसैगरी छात्रातर्फ गोरखा स्कुलकै चिनोचीले दुई स्वर्ण र तीन रजत पदकसहित उत्कृष्ट छात्रा खेलाडीको उपाधि हात पार्नुभएको छ।

Facebook Comments