मसुरिया। नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिले राप्ती गाउँपालिकाले कक्षा ७ का विद्यार्थीका लागि प्रकाशित गरेको ‘हाम्रो राप्ती’ नामक स्थानीय पुस्तकमा मगर समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र इतिहाससम्बन्धी तथ्यहरू गलत र विकृत रूपमा प्रस्तुत गरिएको भन्दै औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्थानीय तहको पाठ्यक्रममा स्थानीय समुदायका भाषा, संस्कार–संस्कृति र भूगोल समावेश गर्ने पहल सकारात्मक भएको तर तथ्यपरक ढंगले प्रस्तुत नगर्दा मगर समुदायमा गम्भीर असन्तुष्टि उत्पन्न भएको उल्लेख गरेको छ।
संघका अनुसार पुस्तकका लेखक ताराप्रसाद भुसालद्वारा तयार गरिएको सामग्रीमा मगर समुदायको पहिचानसम्बन्धी पक्षहरू विकृत रूपमा समावेश गरिएका छन्, जसले समुदायको इतिहास र सांस्कृतिक पहिचानमाथि गम्भीर प्रभाव पार्न सक्ने भन्दै तुरुन्त सुधार आवश्यक रहेको बताइएको छ।
नेपाल मगर संघ दाङले पुस्तकमा रहेका गलत व्याख्या तथा विश्लेषणलाई छिटोभन्दा छिटो सच्याउन माग गर्दै, माग बेवास्ता भए संघ आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ।
यस विषयमा आवश्यक समन्वयका लागि संघले केन्द्रीय सदस्य भिमप्रकाश पुन मगर, प्रदेश भाषिक उपाध्यक्ष इराधा झाँक्री मगर र गाउँपालिका उपाध्यक्ष जितबहादुर घर्ती मगरलाई स्थानीय समन्वयकर्ता तोकेको जनाएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पुस्तकमा भएका त्रुटिहरू कुनै नियतवश नभई भुलबस भएको भन्दै आवश्यक संशोधन गरिने आश्वासन दिनुभयो।
साे कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य भिमप्रकाश पुन, शारदा पुन मगर, लुम्बिनी प्रदेश भाषिक उपाध्यक्ष इराधा झाँक्री मगर, जिल्ला अध्यक्ष मुक्त बहादुर बुढा मगरलगायतको टाेलीकाे सहभागिता रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
