श्रवण कुमार यादव
राजपुर। दाङको सुगम जिल्ला भित्र पर्ने तर भौगोलिक रूपमा दुर्गम मानिने राजपुर गाउँपालिकाको भौवानाका क्षेत्रमा आज गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कठिन भौगोलिक अवस्था र सीमित सुविधाकाबीच स्थानीयको सक्रिय सहभागिताले प्रतियोगिता प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
शिवशक्ति माध्यमिक विद्यालय भौवानाकाको व्यवस्थापकीय नेतृत्वमा सम्पन्न प्रतियोगितामा स्थानीय बासिन्दाको सहयोग, जनप्रतिनिधिहरूको मार्गदर्शन, विद्यालय सञ्चालन समितिको समन्वय, शिक्षक–शिक्षिकाको कर्तव्यनिष्ठा तथा सुरक्षाकर्मीको अटल सेवाभावले कार्यक्रम सुचारु गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। खेलाडीहरूकाे अनुशासन र प्रशिक्षकहरूको निष्पक्षताले प्रतिस्पर्धा अझ व्यवस्थित रूपले अघि बढेको आयोजक पक्षले जनाएको छ।
राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको अध्यक्षता तथा लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेताको रनिङशिल्ड हात पारेको हो।
प्रतियोगितामा जनज्योति मटेरियाले १० स्वर्ण, ७ रजत र २ काश्य सहित अग्रस्थान हासिल गर्यो। सोहीअनुसार साधारण माध्यमिक विद्यालय सालभौरीले ८ स्वर्ण, ३ रजत र ९ काश्यसहित दोस्रो उत्कृष्टता देखायो। त्यस्तै माध्यमिक विद्यालय दुलैयाले ४ स्वर्ण, ९ रजत र ६ काश्य प्राप्त गर्दै तेश्रो प्रभावकारी प्रदर्शन गरेको छ।
त्यस्तै अन्य विद्यालयहरूको पदक स्थिति क्रमशः गौरीशंकर भैंसाहीनाकाले २ स्वर्ण, २ रजत, २ काश्य; शिवशक्ति भौवानाकाले २ स्वर्ण, ३ रजत, १ काश्य; बालकल्याण खाङ्ग्रानाकाले १ स्वर्ण, १ रजत, ४ काश्य; माध्यमिक विद्यालय सिक्टाले १ स्वर्ण, ४ रजत, २ काश्य; ज्योति आधारभूत गुरुङखोलाले १ स्वर्ण, १ रजत; शंकर माध्यमिक खरदरियाले ३ रजत, ४ काश्य; र युगवोद्ध आधारभूत सुनपत्रीनाकाले १ रजत पदक जितेका छन्। त्यस्तै मार्चपास तर्फ माध्यमिक विद्यालय सिक्टा प्रथम घोषित भयो भने जनज्योति मटेरिया द्वितीय र बालकल्याण खाङ्ग्रानाका तृतीय हुन सफल भएका छन्।
विजेतादेखि सहभागी सबै विद्यालय तथा खेलाडीलाई शुभकामना व्यक्त गर्दै राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत बासु खनालले खेल सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग पुर्याउने सम्पूर्णप्रति आभार प्रकट गर्नुभएको थियो। उहाँले रनिङशिल्डले दुर्गम क्षेत्रका विद्यार्थीको प्रतिभा प्रदर्शन र खेलकुदप्रतिको चासो बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाउनुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
