मधुसूदन गिरी
कमिरेचौर। दाङको बंगलाचुली गाउँपालिकामा आन्दोलित स्थानीय, सिमेन्ट उद्योग, गाउँपालिका र टिप्पर व्यवसायीबीच हिजो (बिहिबार) पुनः छलफल भएको छ। छलफलमा अधिकांश बुँदामा सहमति जुटेपनि केही विषयमा भने सहमति हुन सकेको छैन।
स्थानीयको माग अनुसार बंगलाचुली गाउँपालिकाको सिमानादेखि तापाचोकसम्मको सडक कालोपत्रे गर्नुपर्ने थियो। तर सिमेन्ट उद्योगले पूर्व सहमति अनुसार छ सय मिटर मात्र कालोपत्रे गर्ने अडान राखेपछि सहमति हुन नसकेको स्थानीय छविलाल डाँगीले जानकारी दिनुभयो। सो विषयमा तीनवटा सिमेन्ट उद्योगले आपसमा छलफल गरी निर्णय गर्ने बताइएको छ। अन्य बुँदामा भने सहमति भएको छ।
तापाचोकदेखि तापा सम्म सडक मर्मत, फुटपाथ मर्मत तथा संवेदनशील क्षेत्रमा सुरक्षा पिलरको व्यवस्था गर्ने, खानी प्रभावित क्षेत्रका पानीका मुहान तथा ढल निकासका काम स्थानीयसँग समन्वय गरेर गर्ने, टाइमकार्ड, गति नियन्त्रण तथा ओभरलोड नियन्त्रणको काम तत्काल लागू गर्ने, ट्राफिक नियम पालना गराउन इलाका प्रहरी कार्यालय कमिरेचौर र बंगलाचुली गाउँपालिकाको नगर प्रहरीले सहजीकरण गर्ने, उद्योगको नविकरण शुल्क समयमै बुझाउनुपर्ने, खानी प्रभावित क्षेत्रको जग्गा खरिद गर्ने, टिप्पर दुर्घटना भएको स्थानमा क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने, तापा पोखरी डाँडादेखि अरिङखोला सम्म मोटरबाटो निर्माण गर्ने, भुटनेटा–घोराही धुलो प्रभावित क्षेत्रमा पानी छर्कने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने, उद्योगी, व्यवसायी, सरोकारवाला र स्थानीयबीच हरेक महिना समन्वय बैठक राख्ने तथा टिप्पर सञ्चालन टाइमकार्डबाहेक बिहान पाँच बजेदेखि राति आठ बजेसम्म मात्र सञ्चालन गर्ने सहमति भएको हो।
तर स्थानीयले निर्माण कार्यको ५० प्रतिशत काम सम्पन्न नहुँदैसम्म टिप्पर र खानी सञ्चालन बन्द गर्नुपर्ने अडान लिएका छन्। बारम्बार उधारो सम्झौता भएको भन्दै यसपटक कडाइका साथ अडान लिएको स्थानीय अगुवा जागेश्वर रावतले बताउनुभयो।
छलफल कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले आन्दोलित स्थानीयको समस्या दुवै पक्षबीच छलफलमार्फत समाधान गर्नु पर्ने बताउनुभयो। साथै यसमा गाउँपालिका मध्यस्थकर्ता रहेको समेत उल्लेख गर्नुभयो। अध्यक्ष पुनले स्थानीयको माग अनुसार पालिकाको अधिकारभित्र पर्ने माग सम्बोधन गर्ने र अन्य माग सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मंसिर १६ गतेदेखि बंगलाचुली गाउँपालिका–३ र ४ का स्थानीयले सिमेन्ट उद्योग र टिप्पर सञ्चालनमा रोक लगाएका थिए। सो विषयमा मंसिर २२ गते छलफल भए पनि निष्कर्ष ननिस्कँदा हिजो पुनः छलफल गरिएको थियो। छलफल कार्यक्रमको सहजीकरण गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
