घोराही। घोराहीमा चौथो संस्करणको ‘प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता–२०८२’ सुरु भएको छ । प्याब्सन घोराही नगर समितिको आयोजनामा बुधबारदेखि घोराही–१८ स्थित नवलपुर खेलमैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो ।

चार दिनसम्म चल्ने खेलकुद प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले निजी विद्यालय स्थापना भएकै दिनदेखि राज्यको प्रहार झेल्नुपरेको बताउनुभयो । सरकारले निजी विद्यालयको प्रगतिमा साथ नदिई उल्टै विभिन्न बहानामा बाधा पुर्याउने काम गर्दै आएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

पाण्डेले अन्तर्राष्ट्रियस्तरमा निजी शिक्षाको छवि मजबुत बन्दै गएको उल्लेख गर्दै सामुदायिक विद्यालयमा ठूलो लगानी गर्दा पनि अपेक्षित सुधार नआएको टिप्पणी गर्नुभयो । “सामुदायिक विद्यालय बन्नु नै पहिलो हो, तर निजी विद्यालयलाई नष्ट गरेर होइन, सहयात्री बनाएर,” उहाँले भन्नुभयो । सहकार्यको वातावरण बनेमा निजी विद्यालयले पनि सामुदायिक शिक्षाको गुणस्तर उकास्न ठोस योगदान दिन सक्ने बताउनुभयो ।

अध्यक्ष पाण्डेले विद्यालयलाई ‘साझा फूलबारी’को रूपमा विकास गर्दै खुशी शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो । संस्कारसहितको गुणात्मक शिक्षाका लागि प्याब्सन लुम्बिनी प्रदेशले नयाँ योजना अघि सार्ने तयारी गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले प्याब्सनले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै निजी विद्यालयले गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान दिएको बताउनुभयो । घोराहीमा खेलकुदलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई सहभागितामूलक गतिविधिमा जोड्दै आएकोमा उनले प्रशंसा व्यक्त गरे । खेलकुद एवं खेलसम्बन्धी पाठ्यक्रमलाई विद्यालयस्तरमै अनिवार्य गर्नुपर्ने सुझाब पनि उहाँले छोड्नुभयो ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेका अनुसार घोराहीमा ४१ विद्यालयबाट सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष ५८ विद्यालयको सहभागिता रहेको छ । खेलकुदले स्वास्थ्य, मानसिक तथा शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले विद्यार्थीलाई अनुशासित रूपमा प्रतिस्पर्धामा उतारिन आग्रह गर्नुभयो ।
प्याब्सन घोराहीका प्रमुख सल्लाहकार बिरेन्द्र चन्दले २०७९ सालदेखि घोराहीमा रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको बताउँदै यसले विद्यार्थीको क्षमता विकास र संस्थागत विद्यालयबीच एकता सुदृढ गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्यालले यस वर्षको प्रतियोगिता पछिल्ला वर्षभन्दा थप व्यवस्थित भएको उल्लेख गर्दै शिक्षासँगै खेलकुदको महत्त्व विद्यालयमा बढ्दै गएको बताउनुभयो । उपमहानगरले खेलकुद तथा शिक्षा क्षेत्रमा आवश्यक सहयोग गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
घोराही नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले प्याब्सनले चौथो संस्करणको खेलकुद कार्यक्रम आयोजना गर्दै विद्यार्थीलाई खेलकुदमा सहभागी गराएर महत्वपूर्ण योगदान दिएको बताउनुभयो । भदौ २३ र २४ गतेको आन्दोलनका कारण देशभर आर्थिक क्षेत्र प्रभावित हुँदा केही समय कार्यक्रम गर्न नसकिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रम प्याब्सन घोराही नगरका उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रममा प्याब्सनका केन्द्रीय तथा प्रदेश प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगितामा घोराहीका ५८ विद्यालयका विद्यार्थीहरूले भलिबल, कबड्डी तथा एथलेटिक्सका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रमको सञ्चालन नगर समितिका सचिव बिमल भण्डारीले गर्नुभयो । प्रतियोगितामा सहभागी विद्यालयहरूले तुलसीपुर चोकबाट सहिद गेट, वीपी चोक र ट्राफिक चोक हुँदै नवलपुर खेलमैदानसम्म र्याली निकालेका थिए ।

रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।
