• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खाद्यद्वारा दाङमा एक करोड ४४ लाख बढीको धान खरिद




दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपर शाखाले दाङका तीन पालिकाका किसानहरुबाट एक करोड ४४ लाख बढीको धान खरिद गरेको छ । कम्पनीले जिल्लाको गढवा गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाका दुई सय १२ जना किसानहरुबाट एक करोड ४४ लाख ८९ हजार आठ सय नौ रुपैयाँ बराबर रकमको धान खरिद गरेको हो । कम्पनीले कात्तिक २३ गतेदेखि गढवा गाउँपालिकाको खरिद केन्द्रबाट कृषकहरुको धान खरिद कार्य सुरु गरेको थियो ।

जिल्लामा पाँच हजार क्विइन्टल धान खरिद गर्ने कोटाअनुसार गढवा गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाको खरिद उपकेन्द्रबाट हालसम्म चार हजार एक सय ८३ क्विइन्टल २० केजी धान खरिद गरेको शाखाका सूचना अधिकारी शक्तिराम डाँगीले बताउनुभयो । शाखाले पाएको कोटाअनुसार आठ सय १६ क्विइन्टल ८० केजी धान अपुग भएको छ । कार्यालयले माटो धान खरिद गर्ने भएको हुँदा खरिद कार्य ढिला र राप्तीमा धेरै जसो मसिनो धान उत्पादन भएकोले कोटाअनुसारको धान खरिद गर्न नसकिएको उहाँले बताउनुभएको थियो ।

उहाँले जिल्ला प्राथमिक खरिद समितिले गरेको निर्णय अनुसार पालिकाको खरिद उपकेन्द्रबाट धान खरिद कार्य तीन चरणमा गरेको जानकारी दिनुभयो । पहिलो चरणमा कात्तिक २४ गतेदेखि २८ गतेसम्म गढवा गाउँपालिकाको खरिद उपकेन्द्रबाट शाखाले ७५ जना किसानहरुबाट ८१ लाख ५५ हजार एकसय ९४ रुपैयाँ २६ पैसा मूल्यको दुई हजार तीन सय ५४ क्विइन्टल ४० केजी धान खरिद गरेको डाँगीले बताउनुभयो । गढवाले दुई हजार क्विइन्टल धानको कोटा पाएको भएपनि शाखाले त्यहाँका किसानहरुबाट तीन सय ५४ क्विइन्टल ४० केजी बढी धान खरिद गरेको हो ।

त्यस्तै शाखाले दोस्रो चरणमा मंसिर एक गतेदेखि छ गतेसम्म लमही नगरपालिकाको खरिद उपकेन्द्रबाट लमहीका एक सय १३ जना किसानहरुबाट ५१ लाख ६८ हजार चार रुपैयाँ ५२ पैसा मूल्यको एक हजार चार सय ९२ क्विइन्टल धान खरिद गरेको छ । लमहीले पाएको एक हजार पाँच सय धानको काटोमध्ये शाखाले एक हजार चार सय ९२ क्विइन्टल धान खरिद गरेको गरेको सूचना अधिकारी डाँगीले बताउनुभयो ।

त्यसैगरी तेस्रो चरणमा शाखाले मंसिर सात गतेदेखि नौ गतेसम्म राप्ती गाउँपालिकाको खरिद उपकेन्द्रबाट तीन सय ३६ क्विइन्टल ८० केजीमात्र धान खरिद गरेको छ । पालिका एक हजार पाँच सय धानको कोटा पाएको भएतापनि खरिद समय ढिलो र त्यहाँ धेरै जसो मसिनो धान उत्पादन भएको हुँदा कोटाअनुसार धान खरिद गर्न नसकिएको उहाँले बताउनुभयो । त्यहाँका २४ जना किसानहरुबाट ११ लाख ६६ हजार छसय ११ रुपैयाँ २० पैसाको मात्र धान खरिद भएको छ । तर, कार्यालयले मोटो धान खरिद गर्ने भएको हुँदा राप्तीमा खरिद कार्य ढिला र मसिनो धान धेरै उत्पादन भएको हुँदा कोटाअनुसारको धान खरिद गर्न नसकेको उहाँको भनाइ थियो ।
जिल्ला प्राथमिक खरिद समितिले गरेको निर्णय अनुसार एक जना कृषकबाट अधिकतम ४० क्विइन्ट धान खरिद गर्ने भएको भएतापनि सबै किसानहरुलाई समेट्ने गरी अधिकतम १५ क्विइन्टल धान खरिद कार्यलाई अगाडि बढाइएको उहाँको भनाइ थियो । तर, गढवामा भने कतिपय किसानहरुबाट ४० क्विइन्टल धाननै खरिद भएको जानकारी दिँदै उहाँले लमहीका प्रति किसानबाट १५ क्विइन्टल र राप्तीका किसानहरुसँग भने प्रति किसान अधिकतम २० क्विइन्टल धान खरिद गरिएको बताउनुभयो ।

सरकारले निर्धारण गरेको गरेको धानको मूल्य तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसामा धान बिक्री हुँदा भने किसानहरु खुशी भएका छन् । लिमिटेडको देशभर १३ वटा खरिद केन्द्र धान खरिद केन्द्र रहेको र त्यसमा तुलसीपुर शाखा पनि भएको हुँदा तुलसीपुर कार्यालयले स्थानीय तहसँगको समन्वय र सहकार्य अनुसार खरिद उपकेन्द्रबाट धान खरिद गरेको डाँगीले बताउनुभयो । जिल्लाको पाँच हजार धान खरिद कोटाअनुसार गढवा गाउँपालिकाले दुई हजार क्विइन्टल, लमही नगरपालिका र राप्ती गाउँपालिकाले १५÷१५ सय क्विइन्ट धान सम्बन्धित पालिकाको खरिद उपकेन्द्रबाट धान खरिद गर्ने कम्पनी र पालिकाहरुबीच सम्झौता भएको थियो ।

गतवर्ष शाखा कार्यालयले आठ हजार धान खरिदको कोटा पाएको र लक्ष्य अनुसार धान खरिद हुन नसक्दा यस वर्ष धानको कोटा घटेको हुनसक्ने उहाँले बताउनुभयो । कार्यालयले पाएको कोटा आठ हजारमध्ये जिल्लाका राजपुर र गढवा गाउँपालिकाका किसानहरुबाट एक हजार छसय ३२ पोइन्ट १४ क्विइन्टल धान खरिद भएको थियो । खरिद उपकेन्द्रमा धान नआउँदा खरिद हुन नसकेको र यो वर्ष भने खरिद उपकेन्द्रमा पर्याप्त धान आएको उहाँले बताउनुभएको थियो ।

शाखाले सम्बन्धित पालिकाको कृषि शाखाले पहिचान गरेको किसानहरुको सिफारिस अनुसार किसानहरुबाट धान खरिद गरेको थियो । किसानहरुबाट खरिद भएको धानको भुक्तानी भने कार्यालयले विद्युतीय माध्यमबाट किसानहरुको खातामा भुक्तानी दिएको बताएको छ । शाखाले पाएको पाँच हजार कोटा अनुसार जिल्लाका तीन स्थानीय तह गढवा गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाको सम्झौता अनुसार किसाहरुबाट धान खरिद कार्यलाइ अगाडि बढाएको थियो ।

 

Facebook Comments