• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविता : “यो बाटो, यो म … अनि अनगिन्ती ठक्करहरू”




यो बाटो मसँग किन रिसाउँछ
म नजानेको भन्दा बढी
फलामे प्रश्नहरू सोध्छ,
र मैले अझै बुझ्नुपर्ने उत्तरहरू
कहाँ–कहाँ भासिन्छन्।

म हुर्किरहेको थिएँ,
कपालभन्दा अगाडि सपना लामो हुन्थ्यो,
हातभन्दा गह्रौँ जिम्मेवारी बोकेर हिँड्थे
नदेखिएको भोलिको पर्खाइमा।
तर समाजले सोध्यो
“सफलता त कहाँ छ तिम्रो?”
म चुप लागेँ,
किनकि मसँग उत्तर थिएन,
थिए त केवल घाउहरू,
जुन कसैले देखेन।

म दौडिरहेँ,
कहिले स्कुलको डेस्कबाट,
कहिले राजनीतिक भाषणका भीडबाट,
कहिले आमाले पर्खेको आँगनबाट।
म दौडिरहेँ,
किनकि रोकिँदा सपना च्यातिने डर थियो।
तर बाटोले फेरि सोध्यो
“किन यति अप्ठ्यारो छ तिम्रो यात्रा?”
म चुप लागेँ,
किनकि बाटो नै तोडिएको थियो,
म होइन।

म समाजको हात समाउन खोज्थेँ,
समाजले भने हात तानिदियो।
मैले परिवर्तन ल्याउन खोजेँ,
समाजले भन्यो
“यो राजनीति हो,
यहाँ तिमीले होइन,
अर्कैले निर्णय गर्छ।”
मेरो बोलीलाई ‘अपरिपक्व’ भनियो,
मेरो भावना ‘भावुकता’ नाममा च्यातियो,
मेरो आवाज ‘ठुलाको बोलाइ’ ले
ढाकिदियो।

तर पनि
म भताभुंग परिनँ।
किनकि मनको भित्तामा एउटा वाक्य
जुन कहिल्यै भत्किँदैन—
“हरेक समस्याको तीन समाधान हुन्छ
स्वीकार गर, बदलिदेउ, या छाडिदेऊ।”
तर मैले बुझिसकेको छु
युवालाई सुरुमा ‘स्वीकार’ गर्नु पर्छ,
बीचबाट ‘बदल्नु’ पर्छ,
अन्त्यतिर कहिलेकाहीँ
सम्पूर्ण निराशासँग ‘छाड्न’ पनि पर्छ।
र फेरि उठ्नुपर्छ।

मेरो आँखा थाकेका छन्,
तर अडिग छन्।
मेरो हात रित्तिएका छन्,
तर बलिया छन्।
मेरो बाटो कति टाढा छ
मलाई थाहा छैन।
तर हरेक ठक्करले
मलाई अझै गहिरो बनाइदिएको छ।

यदि कहिले समाजले सोध्यो
“तिमी किन हारेनौ?”
मैले जवाफ दिनेछु
“किनकि
मेरो भित्र
अझै एक उज्यालो बाँकी छ,
जो बुझ्न
सफल हुनु पर्दैन।
जीवित हुनु मात्र
काफी छ।”
                 श्रवण कुमार यादव
                    राजपुर-३, दाङ

Facebook Comments