• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा प्रवेश गरेकी चर्चित जेनजी अगुवा मुस्कान खातुन को हुन् ?




एसिड आक्रमणबाट पीडित चर्चित जेनजी अगुवा २१ वर्षीया मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् । उनीलाई अब सो पार्टीले जेनजीको तर्फबाट केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ । को हुन् त जेनजी अगुवा खातुन ? पढ्नुस् शब्द चित्रमा ।

खातुन मुस्कान: एसिड आक्रमणपछि उठेको साहस र न्यायको आवाज

एसिड आक्रमण भन्नासाथ प्रायः नेपालीको सम्झनामा आइपर्ने मुस्कान खातुन वीरगन्जकी हसिलो, साहसी र दृढ मनकी किशोरी हुन्। १४ वर्षको उमेरमा उनीमाथि भयानक एसिड आक्रमण भयो, जसले उनको अनुहार, घाँटी र हातमा गहिरो दाग छोड्यो। तर यसले उनको मुस्कान र साहस कहिल्यै कम गर्न सकेको छैन।

मुस्कानको कथा दर्दनाक भए पनि प्रेरणादायी छ। उनले भोगेको पीडालाई शक्ति बनाएर महिला र बालबालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाइरहेकी छन्। उनी आफूलाई “एसिड आक्रमणले अनुहार बिगार्यो, तर मेरो सपना, साहस र मुस्कानलाई कहिल्यै असर गर्न सक्दैन” भन्छिन्।

अन्तर्राष्ट्रिय मान्यता

मुस्कान खातुन नेपालबाट पहिलो महिला हुन् जसले अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी (IWOC) अवार्ड प्राप्त गरिन् । अहिलेसम्मकै कान्छीमध्ये एक हुन उनले यस अवार्डबाट आफ्नो कामलाई थप ऊर्जा र हौसला प्राप्त भएको बताउँछिन्।

एसिड आक्रमणको भयानक अनुभव

छ वर्षअघि बिहान ६ बजे विद्यालय जाने क्रममा मुस्कानमाथि दुई व्यक्तिले एसिड प्रहार गरेका थिए। वीरगञ्जमा स्कुलतिर जाँदै गर्दा उनलाई असफल प्रयासपछि मुखमा एसिड पोखिएको थियो। उनले सम्झिन्छिन्, “ती पुरुषले जिस्काउने गर्थे, तर मलाई मन पर्दैनथ्यो। मैले बुवासँग भने, बुवाले साथीभाइलाई गाली गरेकोमा तीनको इगो हर्ट भएको हो। त्यसैले उनीहरूले मेरो अनुहार कुरुप बनाउने उद्देश्यले एसिड प्रहार गरे।”

आक्रमणपछि मुस्कान बेहोस भइन् र साथीहरूले उनलाई अस्पताल पर्याए। नारायणी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार सुरु भयो। उनलाई थाहा भयो कि उनलाई एसिड आक्रमण गरिएको छ, र भित्रको डर र पीडाले उनलाई बलियो बनायो।

उनले उपचारका क्रममा पनि निकै संघर्ष गर्नुपर्यो । उनका बुवाले औषधि खर्च व्यहोरेका छन् भने शल्यक्रियाको खर्च राज्यले व्यहोरेको छ। उनले भन्छिन्, “एसिडले मेरो अनुहारलाई पूर्ण रूपमा फर्काउन सकिँदैन। उपचारले दागलाई कम गर्न सक्छ, तर जीवनभर रहिरहन्छ।” एसिड आक्रमणपछि न्याय पाउन मुस्कानले निकैसंघर्ष गर्नुपर्यो।

न्याय, शिक्षा र साहस

मुस्कानले आफ्नो पीडा, डर र अनुहारका दागलाई शक्ति बनाएर सामाजिक काम गर्दै आएकी छन्। कानुनकी विद्यार्थी खातुन भविष्यमा न्यायाधीश वा वकिल बन्ने सपना देख्थिन् । केही समयअघि एउटा अन्तर्वातामा उनले भनेकी थिइन्- “मैले आफ्नो घटना सामाजिक रूपान्तरणका लागि प्रयोग गर्ने निर्णय गरेँ। यो दाग मेरो शक्ति हो।” उनले अब राजनीतितर्फ आफ्नो यात्रा अघि बढाएकी छन् ।

सामाजिक सक्रियता

मुस्कान सामाजिक सञ्जालमा सक्रिय रहि महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउँछिन्। उनले मार्सल आर्ट सिकेर आत्मरक्षा गर्दै पुस्तक पढ्ने, पेन्टिङ बनाउने र गीत गुनगुनाउने काम पनि गर्छिन्। उनका प्रयासले देशविदेशमा शुभचिन्तक, सेलिब्रेटी, अभियन्ता र राजनीतिज्ञहरूको हौसला पाएको छ। बलिउड अभिनेता अमिताभ बच्चनले पनि उनलाई मुस्कुराइरहन आग्रह गरेका थिए।

परिवारको समर्थन

उनको परिवारले उनलाई निरन्तर सहयोग र प्रेरणा दिइरहेको छ। बुवासँगै उनले पसलमा सहयोग गर्ने, पढाइमा ध्यान दिने र समाज परिवर्तनका लागि सक्रिय रहन प्रेरित भएकी छन्। मुस्कान भन्छिन्, “पीडामा हुँदा सबैभन्दा धेरै साथ दिएको मेरो परिवार थियो। सबैको साथ र हौसलाले ममा सकारात्मक परिवर्तन आएको छ।”

खातुन मुस्कानको कथा केवल पीडा मात्र होइन, साहस, दृढता र न्यायको प्रतीक बनेको छ। उनले आफ्नो व्यक्तिगत पीडालाई समाजका लागि शक्ति बनाएकी छन् र महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानमा निरन्तरता दिइरहेकी छन्। उनका अनुभव र प्रयासले नेपाल र विश्वभरका युवालाई प्रेरणा दिइरहेका छन्।

पार्टी प्रवेशपछि खातुनको सम्बोधनः

मेरो नाम मुस्कान खातनु हो । म तेजाब आक्रमणको अभियन्ता तथा मानव अधिकारकर्मी । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर म पाँच वर्षसम्म लगातार लागिरहेँ । तेजाब आक्रमणलाई अन्त्य गर्न सफल पनि भएँ । तर मलाई के लाग्छ भने तेजाब आक्रमण मात्रै हिंसा होइन । यस्ता धेरैवटा हिंसा छ, जुन दिदीबहिनीले खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसालाई अन्त्य गर्न जरुरी छ । आज म जेनजी भएकाले सम्पूर्ण जेनजीको विचार बुझेको कुरा भन्न चाहन्छु ।

जेनजीले चाहेको हाम्रो देश प्रगति होस् । हाम्रो देशमा भएको भ्रयष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा म जोडिएको छु । सम्पूर्ण जेनजीलाई अनुरोध गर्छु कि हामी एकता हुन जरुरी छ । हामी एकता भयौं भने हाम्रो देश प्रगति हुनेछ । भ्रष्टाचारको अन्त्य हुनेछ । अवश्य पनि भ्वाइलेन्सको पनि अन्त्य हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाचौं, देशका लागि मरौं । म नेपाली भएर कारणले गर्दा सबैभन्दा पहिला चिनिने हाम्रो देश हो । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि म नेपाली हुँ भनेर प्राउड फि गर्न जरुरी छ । त्यसैगरी यहाँ हाम्रो उपस्थित हुनुभएका प्रचण्ड, माधव कुमार नेपालज्यूलाई धेरै धेरै धन्यवाद ।

जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाइ तेजाब आक्रमण गरेको थियो । उसले मेरो अनुहार जलाएको छ, मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजीलाई के भन्न चाहन्छु भने जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।

Facebook Comments