• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकामा धान खरिद सुरु, किसानले पाए मूल्यको राहत




तुलबहादुर कवँर मगर
मसुरिया,७ मंसिर। दाङको राप्ती गाउँपालिकामा आइतबारदेखि यस वर्षको धान खरिद प्रक्रिया सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले गाउँपालिकाको समन्वयमा धान खरिद कार्य सुरु गरेको हो।

खरिद कार्य शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले किसानले अब सरकारी समर्थन मूल्यअनुसार धान बिक्री गर्न पाउने भएकाले राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो। तिहारपछि खरिद सुरु गर्ने योजना भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको बताउँदै अध्यक्ष विष्टले बाहिरी बजारमा धान बिक्री गर्दा मूल्य नपाएको किसानको गुनासो समाधान हुने धारणा व्यक्त गर्नुभयो।

उहाँले आगामी वर्ष मोटा मात्र नभई मध्यम तथा मसिनो जातका धान पनि खरिद गर्ने योजना रहेको जानकारी दिनुभयो। धानका अतिरिक्त कृषकले उत्पादन गर्ने खसी–बोकाको खरिदमा समेत पालिकाले पहल गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले न्यून मूल्य र बजारका कठिनाइका कारण किसान वर्षौंदेखि मारमा पर्दै आएको उल्लेख गर्दै अब उत्पादनले उचित मूल्य पाउँदा किसानलाई वास्तविक राहत मिल्ने बताउनुभयो। गत वर्षदेखि नै यस्तो कार्यक्रम ल्याउने योजना भए पनि विविध कारणले कार्यान्वयन हुन नसकेको उहाँले जानकारी दिनुभयो। यस वर्ष कोटा कम भए पनि आगामी वर्ष खरिद परिमाण बढाउनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरकी कार्यालय प्रमुख तुलमाया लाेवाले किसानले वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान उचित मूल्यमा बिक्री गर्न पाउने व्यवस्था भएको बताउनुभयो। उहाँका अनुसार यसरी खरिद गरिएको धान पारदर्शी, व्यवस्थित र सहज प्रक्रियाबाट भण्डारण तथा ढुवानी गरिनेछ।

राप्ती गाउँपालिका कृषि शाखा प्रमुख बरसाती गडरियाका अनुसार कृषि उत्पादन सुरक्षित राख्ने, बजार व्यवस्थापन प्रभावकारी बनाउने र किसानलाई आर्थिक रूपमा सुदृढ बनाउने लक्ष्यसहित गाउँपालिका सक्रिय रूपमा काम गरिरहेको छ।

खरिद गरिएको धान वडा नं. ४, मौरिघाटस्थित श्री माध्यमिक विद्यालयको नयाँ भवनमा भण्डारण गरिएको छ। कम्पनीका अनुसार धान प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा दरमा खरिद सुरु गरिएको छ।

Facebook Comments