कोहलपुरमा शनिबार साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झना र सम्मानमा साहित्यिक विमर्श सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई स्मरण गर्दै उनको योगदानको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको बताए। नेपाली बामपन्थी राजनीति, प्रगतिशील साहित्य र पत्रकारितामा सक्रिय रहँदै जनयुद्धको समयमा गिरफ्तार भएका इच्छुक लामो समय दाङलगायतका जेलमा बन्दी जीवन बिताउन बाध्य भए।
विभिन्न स्थानमा सारेर यातना दिइएका इच्छुकको महेन्द्र पुलिस क्लबमै निधन भएको थियो। काठमाडौँको जेलमा रहँदा उनले लेखेका बन्दी र चन्द्रागिरी उत्कृष्ट प्रगतिवादी खण्डकाव्यका रूपमा मानिन्छन्। प्युठान पुर्ख्यौली घर भएका इच्छुकले बाल्यकाल त्यहीँ बिताए भने पछि अर्घाखाँची र दाङको देउखुरीमा बसोबास गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य–सचिव सनत रेग्मीले इच्छुक सच्चा कम्युनिस्ट संस्कारका व्यक्ति रहेको उल्लेख गर्दै युद्धकालीन भेटघाटका रोचक प्रसङ्ग समेत सुनाए। राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले इच्छुकले सरल तर स्पष्ट विचार राख्ने व्यक्तित्व भएको बताउँदै उनको साहित्य र व्यावहारिक जीवनमा गहिरो समानता देखिने टिप्पणी गरे।
अर्का वक्ता डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवनी, साहित्यिक योगदान र चिन्तनका विभिन्न पक्षबारे विस्तृत प्रस्तुति दिएका थिए। कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’, भागवत खनाल, वागेश्वरी क्याम्पसका प्रमुख दानबहादुर हमाललगायतले शुभकामना मन्तव्य राखेका थिए।
त्यसैगरी लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाहीलगायतका कविले इच्छुकप्रति समर्पित कविता वाचन गरे। महाकवि देवकोटा, कृष्ण सेन ‘इच्छुक’सहितका अमर सर्जकहरूको स्मृतिमा मौन धारण गरिएको कार्यक्रममा काठमाडौँ, प्युठान, बाँके, दाङ र बर्दियासहितका क्षेत्रका साहित्यकारको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रम संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षता, सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्य र सचिव केशव निमेषको सहजिकरणमा सम्पन्न भएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
