दाङ । दाङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नौ वटा नयाँ मतदानस्थल थपका लागि निर्वाचन आयोगमा सिफारिस हुने भएका छन् । जिल्लाका सात पालिकाहरुबाट माग भएर आएका १२ वटा मतदान स्थलमध्ये नौ वटा मतदानस्थल मात्र आयोगमा सिफारिस हुने भएका हुन् ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको शुक्रबार घोराहीमा बसेको बैठकले मतदान स्थल थपका लागि पालिकाहरुबाट माग भइ आएका १२ वटा नयाँ मतदान स्थलहरुमध्ये नौ वटा मतदान स्थललाई निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । बैठकले मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्याविधि २०८१ अनुसार मौजुदा मतदान स्थल तथा मतदान केन्द्र, मतदाताको संख्या, यातायताको सुविधा, पहुँचको सुगमता तथा वैकल्पिक मार्गको उपलब्धता, भवन, शैचालय, खानेपानी, विद्युत, टेलिफोन, इन्टरनेट आदि, पूर्वाधारको अवस्था, सुरक्षा प्रबन्ध, उपयुक्त भौगोलिक अवस्थिति र पर्याप्त समथर सार्वजनिक स्थान र मतदान स्थलमै मतगणनाको प्रबन्ध गर्न सकिने आधारलाई मध्येनजर गर्दै नयाँ मतदान स्थलको बारेमा निर्णय लिएको हो ।
जिल्लाको घोराही उपमहानगरपालिका, राप्ती, दंगीशरण र बंगलाचुली गाउँपालिकाबाट एक/एक, वटा लमही नगरपालिकाबाट दुईवटा र बबई र राजपुर गाउँपालिकाबाट तीन/तीन वटा मतदानस्थल थपका लागि लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा सिफारिस भएर आएका थिए । सात पालिकाहरुबाट थप १२ वटा नयाँ मतदानस्थलको माग भएपनि मतदाता संख्या कम भएको र समयमै नयाँ मतदाताको विवरण प्राप्त हुन नसक्दा नौ वटा नयाँ मतदानस्थन मात्र निर्वाचन आयोगमा सिफारिस गर्ने समितिको निर्णय भएको प्रदेश निर्वाचन कार्यालय घोराही निमित्त प्रमुख लालसिंह खड्काले जानकारी दिनुभयो ।
उहाँले मतदाता कम भएको घोराही उपमहानगरपालिका वडा नं. ३ को श्री सरस्वती प्राथमिक विद्यालय मुसोट खोला र नयाँ मतदाताको विवरण पठाउन नसक्ने राजपुर गाउँपालिका वडा नं. १ को बालविशौनी आधाभूत विद्यालय र वडा नं. ७ को गैरीशकंर माध्यामिक विद्यालय भैसही नयाँ मतदानस्थलका लागि आयोगमा सिफारिस हुन नसेको बताउनुभयो । भौगोलिक विकटता तथा टाढाबाट आउने मतदाताहरुको सहजताका लागि नयाँ मतदानस्थलको माग बढेको कार्यालयले जनाएको छ । एक हजारसम्मको मतदाता भएको ठाउँमा मतदानस्थल थप्न सकिने कार्याविधिमा उल्लेख गरिएको छ ।
सिफारिस समितिको बैठकले राजपुर गाउँपालिका वडा नं. ६ को बालकल्याण माध्यामिक विद्यालय खङ्ग्रानाका, बबई गाउँपालिका वडा नं. १ को जनकल्याण आवि भाँगाबारी, वडा नं. २ को नेपाल राष्ट्रिय आधाभूत विद्यालय बैसरी र वडा नं. ४ को सिद्दि गणेश प्राथमिक विद्यालय सुन्दरखाल र बंगलाचुली गाउँपालिका वडा नं. ३ को भेडाबारी मुलाबारी माध्यामिक विद्यालयलाई नयाँ मतदान स्थलका लागि आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै राप्ती गाउँपालिका वडा नं. ५ को जनता माध्यामिक विद्यालय करङ्गे, दंगीशरण गाउँपालिका वडा नं. ७ रात्रि आधाभूत विद्यालय सिमठाना र लमही नगरपालिका वडा नं. ४ को वडा कार्यालय र वडा नं. ८ को श्री आधाभूत विद्यालय भत्तरकुण्डा सिफारिस हुने भएका छन् ।
समितिको वैठकले थप नयाँ मतदानस्थलको बारेमा लिएको निर्णहरु कार्यालयले निर्वाच आयोगमा पठाउने र कार्यालयले पठाएको विवरण अनुसार आयोगले निर्णय लिन सक्ने वा स्थलगत अनुगमन गर्न सक्ने कार्यालय प्रमुख खड्काले बताउनुभयो । कार्यालयले पठाएको थप नयाँ मतदानस्थल निर्धारण हुने वा नहुने भन्ने आगामी पुस १५ गतेमात्र थाहा हुने उहाँको भनाइ थियो । आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सम्पूर्ण राष्ट्रसेवकले शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने समेत निर्णय भएको छ । हाल जिल्लामा एक सय ५३ वटा मतदानस्थल र चार सय ६४ वटा मतदान केन्द्र रहेका छन् ।
मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालयको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।
