प्युठान । प्यूठान जिल्लास्तरीय शिक्षक नायक कार्यशाला गोष्ठी रजबारामा सुरू भएको छ। नेरेसो जिल्ला शाखा प्यूठानको आयोजनामा तथा नेजुरेस श्री खरा माध्यमिक विद्यालय रजबाराको आतिथ्यतामा गत कार्तिक अठाइस गतेदेखि सुरु भएको उक्त कार्यशाला दुई दिनसम्म सञ्चालन हुने छ।
गौमुखी गाउँपालिका–३ रजबारामा रहेको खरा माध्यमिक विद्यालयमा आयोजित गोष्ठीको उद्घाटन कार्यक्रम वि.व्य.स. अध्यक्ष माधव कुमार कार्कीको अध्यक्षतामा भएको हो। कार्यक्रममा गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी प्यूठानका सभापति गुमानराज पुलामी र गाउँपालिका उपाध्यक्ष महावीर राना विशिष्ट अतिथि रहनुभएको थियो।

प्यूठानभरिका शिक्षक नायकहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा सातचालिस (४७) विद्यालयका जुनियर तथा युवा रेडक्रस सर्कलबाट जम्मा सातचहत्तर (७७) जनाको उपस्थिति रहेको थियो। गोष्ठीमा जुनियर तथा युवा रेडक्रस सर्कल कार्यप्रणाली निर्देशिकाबारे विस्तृत छलफल भएको छ। साथै विद्यालय तहमा सञ्चालन भइरहेका रेडक्रस अभियानका उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
जुनियर तथा युवा रेडक्रस सर्कलका आगामी कार्यक्रमहरूको विकास र विस्तारमा यो कार्यशाला महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास आफूहरूले लिएको नेपाल जुनियर रेडक्रस उपसमिति प्यूठानका संयोजक शिवबहादुर एम.सीले बताए।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नायक सुन्दर मल्लले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
