• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
निर्वाचन कार्यालयमा नयाँ मतदाताको उत्साह




दाङ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा बिहीबार सेवाग्राहीहरुको भिडभाड रहेको थियो । प्रायः खाली देखिने निर्वाचन कार्यालयको परिसरमा सेवाग्राहीहरुको निकै चाप बढेको थियो । त्यसको कारण थियो, सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाका लागि निर्वाचनको मिति घोषणा । निर्वाचनको मिति घोषणा भएसँगै कार्यालयले निर्वाचनमुखी कार्यक्रमहरु अघि बढाउदै आइरहेको छ ।

कार्यालयले निर्वाचनका लागि नयाँ मतदाता नामावली दर्ता र अध्यावधिक गर्ने लगायतका काम गत असोज १० गतेदेखि सुरुगरेको थियो । नयाँ मतदाता नामावली दर्ता र अध्यावधिक गर्ने समय सकिँदै गर्दा कार्यालयमा सेवा लिने सेवाग्राहीहरुको चाप बढ्दै गएको छ ।

कार्यालयले निर्वाचनसम्बन्धी कामहरु अगाडि बढाइ रहँदा कार्यालयमा केही दिन अघिसम्म नयाँ मतदाता नामावली दर्ता र अध्यावधिक गर्ने सेवाग्राहीको उपस्थिति निकै कम रहेको थियो । असोज १० गतेदेखि सुरुभएको निर्वाचनसम्बन्धी कामहरु यही कात्तिक ३० गतेसम्म सञ्चालनमा रहने भएका छन् ।

कार्यालयमा २० दिनसम्म निरन्तर निर्वाचनसम्बन्धीका काम हु्ँदापनि दैनिक एकसय जना भन्दा बढी नयाँ मतदाता थपिन नसकेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख लालसिंह खड्काले बताउनुभयो । उहाँले केही दिन अघिसम्म नयाँ मतदाता नामावली दर्ता र अध्यावधिक गर्न आउने नागरिकको संख्या निकै कम भएको र समय सकिदै गर्दा नयाँ मतदाताहरुको चाप बढ्दै गएको जानकारी दिनुभयो ।

कार्यालयमा सेवाग्राहीहरुको चाप बढेसँगै दैनिक न्यूनतम एकसय ५० देखि लिएर अधिंतम छसय पचाँसदेखि सात सयसम्म नयाँ मतदाताको नामावली थपिएको उहाँले बताउनुभयो । जिल्लामा दिउँसोसम्म चार हजार नौसय ५६ जना नयाँ मतदाता नामावली थपिएका छन्, उहाँले भन्नुभयो । कात्तिक ३० गतेसम्म यो संख्या बढेर आठदेखि नौ हजारसम्म पुग्नसक्ने उहाँको अनुमान रहेको छ ।

निर्वाचनसम्बन्धी कामलाई चुस्त र दुरुस्त बनाउनका लागि कार्यालयका कर्मचारीहरुले बिहान सात बजेदेखि साँझ सात बजेसम्म १२ घण्टा काम गर्दै आइरहेको उहाँको भनाइ थियो । २०८१ कात्तिक १६ गतेसम्म कार्यालयमा अध्यावधिक भएको तथ्याङ्क अनुसार दाङमा चार लाख १६ हजार सातसय ३५ जना मतदाताको संख्या रहेको थियो । त्यसमध्ये दुई लाख ११ हजार सातसय १६ जना महिला र दुई लाख पाँच हजार १७ जना र अन्यमा दुईजना रहेका थिए ।

जिल्लाभरका नागरिकहरुले जहाँबाट अनलाइन फर्म भरेपनि अन्मितमा बायोमेट्रिकका लागि निर्वाचन कार्यालयमा आउनुपर्ने बाध्यता कारणले समय सकिँदै गर्दा कार्यालयमा सेवाग्राहीहरुको संख्या बढ्दै गएको निमित्त प्रमुख खड्काले बताउनुभयो । कार्यालयमा सेवाग्राहीहरुको चाप बढेसँगै बिहीबार करिब २० मिनेट सिस्टम बन्द भएको थियो, उहाँले भन्नुभयो । विगतमा पनि यो सिस्टम देशभरी एकैसाथ प्रयोग गर्दा बेला–बेला सिस्टम बन्द हुने समस्या रहेको उहाँको जोड थियो ।

प्रमख खड्काले निर्वाचन कार्यालयको निर्णय अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकहरुलाई मात्र फर्म भरेर नयाँ मतदाता नामावली दर्ताका लागि मात्र निर्वाचन कार्यालयमा आउन सबैमा अनुरोध गर्नुभएको छ । हरेक नागरिकको १६ वर्ष उमेरमा नागरिकता बन्ने र मतदाता नामावलीमा नाम दर्ता हुनेभएपनि १८ वर्ष नपुगेसम्म मताधिकार नहुने भएकोले त्यो उमेर समूहका नागरिहरु कार्यालयमा नआउनहुन उहाँको आग्रह छ । नयाँ मतादाता नामावली दर्ताको समय सकिएपछि त्यसको अध्यावधिक र त्रुटि सच्याउन एक महिना समय लाग्ने र मतदाताहरुको अन्तिम नामावली भने आगामी पुस १५ गतेभित्र प्रकाशन हुने भएको छ ।

 

Facebook Comments