• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घट्दो उद्योग दर्तासँगै महिला उद्यमी पनि घट्दै




घोराही । दाङमा उद्योग क्षेत्रमा महिला उद्यमीको सहभागिता संख्या घट्दै गएको छ । पछिल्लो समय उद्योग दर्ताको संख्या घटेसँगै महिला उद्यमीको सहभागितापनि घट्दै गएको हो ।

उद्योग दर्ताको संख्या बढे महिला उद्यमीको सहभागिता बढ्ने र उद्योग दर्ता घटे महिला उद्यमीको सहभागिता पनि घट्दै जाने घरेलु तथा साना उद्योग कार्यालय, दाङले जनाएको छ । जिल्लामा पहिले उद्योग क्षेत्रमा महिला उद्यमीको सहभागिता धेरै रहेको भएतापनि पछिल्लो सयम उद्योग दर्ता निरन्तर घट्दो अवस्थामा रहेसँगै महिला उद्यमीको सहभागिता संख्या पनि घटेको छ ।

कार्यालयमा यो वर्षको चालू आर्थिक वर्षमा एकसय ४६ वटा उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८२/८३ को सुरुवातको साउनदेखि कात्तिक २५ गतेसम्म एकसय ४६ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये ५६ जना महिला उद्यमीको सहभागिता रहेको कार्यालयले जनाएको हो ।

कार्यालयको चार वर्षको तथ्याङ्कलाई हेर्ने हो, भने उद्योग दर्ताको संख्या निरन्तर रुपमा घटेसँगै उद्योगमा महिला उद्यमीको सहभागिता संख्यापनि घट्दै गएको पाइन्छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा उत्पादनमूलकतर्फ दुईसय १४, सेवातर्फ दुईसय ६६, कृषि तथा वनजन्यतर्फ एक हजार चार सय ६२, पर्यटनतर्फ एकसय ९९ र खनिजतर्फ एक गरी दुई हजार एकसय ४२ वटा साना उद्योग दर्ता हुँदा उद्योग क्षेत्रमा एक हजार तीनसय ७४ जना महिला उद्यमीको सहभागिता रहेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा उत्पादनमूलकतर्फ ९९, सेवातर्फ एकसय ७३, कृषि तथा वनजन्यतर्फ चारसय ७० र पर्यटनतर्फ ९६ गरी आठ सय ३८ वटा उद्योग दर्ता हुँदा चार सय ७३ जना महिला उद्यमीको सहभागिता रहेको थियो । गत वर्षको तुलनमा एक हजार तीन सय चार वटा उद्योग दर्ता घट्दा उद्योगमा नौसय एक जना महिला उद्यमीको सहभागिता घटेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले उद्योग दर्ता शुल्कमा महिलालाई छुट प्रोत्साहन दिँदा धेरै उद्योगहरु दर्ता भएको कार्यालका उद्यम विकास सहजकर्ता अनिल चौधरीले बताउनुभयो । कार्यालयमा दर्ता हुने अधिकांश उद्योगहरु बैकिङ् लोन र स्थानीय अनुदानका लागि हुने गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलकतर्फ एकसय १६, सेवातर्फ एकसय ३४, कृषि तथा वनजन्यतर्फ दुईसय ४४ र पर्यटनतर्फ ६८ गरी पाँच सय ६२ वटा उद्योग दर्ता हुँदा दुईसय ६८ जना महिला उद्यमी रहेका थिए । यसवर्ष अघिल्लो वर्षको तुलनामा दुई सय ७६ वटा उद्योग घटेको थियो । उद्योग घटेसँगै दुईसय पाँच जना महिला उद्यमीहरु घटेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा उत्पादनमूलकतर्फ ८०, सेवातर्फ एकसय ३८, कृषि तथा वनजन्यतर्फ एकसय ८९ र पर्यटनतर्फ ५३ गरी चारसय ६० वटा उद्योग दर्ता हुँदा एक सय ८२ महिला उद्यमीको सहभागिता रहेको थियो । यस वर्ष गत आर्थिक वर्षको तुलनामा एकसय दुई वटा उद्योग दर्तामा कमी भएको थियो । गतवर्षको तुलननमा यो वर्ष ८६ जना महिला उद्यमी घटेका थिए ।

कोभिड पछि जिल्लामा धेरै उद्योगहरु दर्ता भएको कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो । उहाँले उद्योग दर्ता गर्दा महिलालाई ५० प्रतिशन दर्ता शुल्क छुट हुने भएको हुँदा महिला उद्यमीहरुको सहभागिता धेरै रहेकोे बताउनुभयो । तर, उद्योग दर्ताको संख्या बढे महिला सहभागिता बढ्ने र दर्ता घटे स्वतः महिलाको सहभागिता घट्दै जाने उहाँको जोड थियो ।

बैदेशिक रोजगार र बैंकिङ लोकको प्रक्रियाका लागि उद्योग दर्ता गर्ने र उद्देश्य पूरा भएपछि उद्योग बन्द गर्ने गरेको अवस्था रहेको छ, उहाँले भन्नुभयो । उद्योग दर्ता गर्ने तर, उद्योगबाट उत्पादन भएको बस्तुले बजार नपाउनु र स्थानीय तह, प्रदेशमा कर तिर्नुपर्ने भएको कारणले उद्योग चलाउन नसकेर बन्द गर्नुपर्ने अवस्था पुगेको उद्यमीहरुले बताउने गरेको उहाँको जोड थियो । जिल्लामा उद्योग दर्ता गर्ने र लागत कट्टा गर्नेको अवस्था उस्तै रहेको उहाँको भनाइ थियो ।

Facebook Comments