बिष्णु गोराथोकी
दाङ। स्वर्गद्वारी नगरपालिका–६ बेलवासबाट बसाइँसराइ गरी दाङ आएका स्थानीयहरूले गठन गरेको सिद्ध खड्का बेलवासी समूहले दाङको घोराही उपमहानगरपालिका–१३, दहमा पिकनिक तथा विकास–लक्षित देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष शोभाराम आचार्यले गर्नुभएको थियो। कार्यक्रममा उत्कृष्ट रकम प्रदान गर्ने प्रमुख अतिथि बिमला भट्टराईलाई समूहका तर्फबाट माला, खादा र मायाको चिनोले सम्मान गरिएको थियो। त्यस्तै, दोस्रो र तेस्रो उत्कृष्ट रकम प्रदानकर्तालाई पनि माला र अविरले सम्मान गरिएको समूहले जनाएको छ।

भैलो कार्यक्रमबाट जम्मा रु. दुई लाख सत्र हजार तेतीस रुपैयाँ रकम सङ्कलन भएको समूहका सचिवालयले जनाएको छ। सो रकममध्ये चालिस प्रतिशत पिकनिक कार्यक्रम सञ्चालनमा र बाँकी साठी प्रतिशत रकम विकास निर्माणका कार्यमा खर्च गर्ने निर्णय समूहले गरेको छ।
सिद्ध खड्का बेलवासी समूह स्वर्गद्वारी नगरपालिका–६ बेलवासबाट दाङमा बसोबास गरिरहेका व्यक्तिहरूको साझा संस्था हो। समूहले सदस्यबीच आत्मीयता, आपसी मेलमिलाप र सहयोगको भावना विकास गर्ने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति, गीत–संगीत, सांस्कृतिक कार्यक्रम र भैलो नाच प्रस्तुत गरिएको थियो। सो कार्यक्रमको सहजीकरण समूहका सह–सचिव तथा कार्यक्रम संयोजक चन्द्रप्रसाद वसेलले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
